सडकमा फोहोर फाले एक हजार जरिवाना

काठमाडौं, ३ वैशाख । तपाईं आफूले उत्पादन गरेको फोहोर सडकमा फाल्दै हुनुहुन्छ भने होसियार हुनुस् । त्यसरी फोहोर फालेको भेटिए काठमाडौं महानगरपालिकाका अधिकारीले पाँच सयदेखि एक हजार रुपियाँसम्म जरिवाना गर्नेछन् ।
गत साता बुधबार काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले फोहोर मैला निष्कासन, संकलन तथा अन्तरिम व्यवस्थापनसम्बन्धी निर्देशिका तयार पारेर लागू गरेपछि बाटामा फोहोर फाल्नेहरू जरिवानामा पर्ने भएका हुन् ।
सौर्य दैनिकलाई प्राप्त निर्देशिकाअनुसार तोकिएको क्षेत्रबाहेक अन्य स्थानमा फोहोर अनुगमनको संयन्त्र पनि बनाइएको छ । वडामा वडासचिवको संयोजकत्वमा स्थानीय सामुदायिक प्रहरी, वडाका सुपरभाइजर, नगर प्रहरी तथा एक सरसफाइ कर्मचारीसहितको टोली बनाइएको छ । सो टोलीलाई सडकमा फोहोर फालिरहेको भेटेमा कारबाही गर्ने अधिकारसम्म दिइएको महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलेे बताए । अधिकारीले भने, ‘टोलीलाई पाँच सयसम्म जरिवाना र एक दिन थुनामा राख्न सक्ने अधिकार दिइएको छ ।’
सडकमा हिँड्नेहरूका लागि पनि महानगरपालिकाले फोहोर फाल्ने स्थान तोकिदिनेछ । आधा किलोमिटरको दूरीमा फोहोर फाल्न भाँडोको व्यवस्था गर्ने तयारी महानगरपालिकाको छ । २ वैशाखदेखि बटुवाले सडकमा फोहोर फालेको भेटिए महानगरपालिकालाई जरिवाना तिर्नुपर्नेछ । सोही निर्देशिकाअनुसार सार्वजनिक स्थानमा पोस्टर टाँसेको भेटिए पनि महानगरपालिकाले एक हजार रुपियाँ जरिवाना गर्नेछ ।
त्यसैगरी, महानगरपालिकाले बाटामा गिटी, बालुवा, इँटा तथा ढुंगा राख्न नपाउने, बाटामा आकासेपानी तथा घरको रछ्यान फाल्न नपाउने, नदीमा ढल जोड्न नपाइने जनाएको छ । जारी निर्देशिकाविपरीत फोहोर फाले एक हजार रुपियाँ जरिवाना हुने महानगरपालिकाको भनाइ छ । आफ्नो घर, विद्यालय, सरकारी निकाय, उद्योग-कलकारखाना, अस्पताल, पार्टी प्यालेसजस्ता निकायले पनि फोहोर उठाउन आवश्यक सहयोग गर्न निर्देशिकाले निर्देशन गरेको छ ।
सडक वा निषेधित क्षेत्रमा फोहोर फाल्ने व्यक्तिको विषयमा सूचना दिन महानगरपालिकाले अपिल पनि गरेको छ । त्यसरी सूचना दिने व्यक्तिलाई महानगरपालिकाले कारबाहीबाट उठेको रकमको दस प्रतिशत पुरस्कार दिने भएको छ । फोहोर व्यवस्थापनको सिलसिलामा असुल हुने रकमबाट २० प्रतिशत कर्मचारीले पनि पुरस्कारबापत पाउने भएका छन् । कार्यकारी अधिकृत अधिकारीका अनुसार कर्मचारी तथा अन्य व्यक्तिलाई प्रोत्साहन गर्न यसो
गरिएको हो ।
सार्वजनिक स्थानमा फोहोर अनुगमनका लागि महानगरपालिकाले केन्द्रीय अनुगमन समिति बनाएको छ । कार्यकारी अधिकृत संयोजक रहने सो समितिमा वातावरण व्यवस्थापन विभाग, भवन तथा सम्पदा महाशाखा र  कार्यान्वयन महाशाखा प्रमुख, महानगरीय प्रहरी परिसर, महाशाखा र प्रमुख सामुदायिक परिचालन एकाइ सदस्य रहनेछन् । समितिले साप्ताहिक रूपमा फोहोर व्यवस्थापनको समीक्षा गरी नीतिगत निर्णयका लागि सिफारिस गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रतिक्रिया