सूचीकरणमा नपरेका पब्लिकेसनका पुस्तक सिफारिस

चितवन, ३ वैशाख । चितवनका निजी विद्यालयले संस्थागत रूपमै पाठ्यक्रम विकास केन्द्रको सूचीकरणमा नपरेका पाठ्यसामग्री प्रयोगमा ल्याउने तयारी गरेका छन् । अधिकांश निजी विद्यालयले केन्द्रको सूचीकरण बाहिरका पाठ्यपुस्तकको सूची पुस्तकपसलमा पठाएका हुन् ।
भरतपुर क्षेत्रका बोर्डिङ स्कुलको संस्था भरतपुर इङ्लिस स्कुल सोसाइटी -बेस) ले जिल्लाका ४२ निजी विद्यालयका लागि तयार पारेको सूचीमा अधिकांश पाठ्यपुस्तक केन्द्रबाट सूचीकृत नभएका छन् । बेसले २२ चैतमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा अधिकांश पुस्तक सूचीकरणभन्दा बाहिरका पब्लिकेसनका छन् । राइज्स, एसिया पब्लिकेसन, युनिक्स, एभरेस्ट म्याप र केइडिसी पब्लिकेसनका पुस्तक बेसले प्रयोगमा ल्याउन लागेको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि सिफारिस भएका अधिकांश पुस्तक यिनै पब्लिकेसनका छन् । १५ वटा पब्लिकेसनका पुस्तक शैक्षिक सत्र २०६९ का लागि सिफारिस गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले नवीकरण भएका र सूचीकरणमा परेका पाठ्यपुस्तकको विवरण २ फागुनमा सार्वजनिक गरेको थियो पुनः प्रकाशित सूचनामा परिमार्जन गरेर स्वीकृतिका लागि आवेदन परेका १८ पब्लिकेसनका पाठ्यपुस्तक पनि सूचीकृत गरिएको थियो । परिमार्जित सूचनामा पनि यी पाँच पब्लिकेसन परेका थिएनन् ।
बेसका अध्यक्ष टीकाराम चापागाईं पुरानै पब्लिकेसन भएकाले पुस्तक सिफारिस गरिएको बताए । ‘सूचीकरणका लागि आवेदन दिएको जानकारीअनुसार हामीले सिफारिस गरेका हौँ ।’ उनले भने, ‘पुरानै पब्लिकेसन भएकाले निरन्तरता दिएका हौँ ।’ बेसले पहिला ती पब्लिेकेसनका पुस्तकको नाम केन्द्रले पठाएको र पछि सार्वजनिक गरेको सूचीमा उल्लेख नभएको तर्क गरेको छ ।
केन्द्रको सूचीकरणमा नपरेका पाठ्यसामग्री प्रयोग गर्ने विद्यालयलाई २५ हजार रुपियाँ जरिवाना वा विद्यालयका पि्रन्सिपललाई ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था सरकारले गरेको छ । जिल्ला शिक्षा कार्यालयको अनुमति लिएर मात्रै थप पाठ्यपुस्तक विद्यालयले पढाउन पाउने व्यवस्था केन्द्रले गरेको छ । तर, शिक्षा कार्यालयको पनि विनास्वीकृति बेसले ४२ निजी विद्यालयका लागि सूचीकरणमा नपरेका पब्लिकेसनका पाठ्यसामग्री सिफारिस गरेको हो ।
चितवनका शिक्षा अधिकारी रमाकान्त शर्माले शैक्षिक सत्र सुरु भएपछि अनुगमन गरेर पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिबाहेकका पाठ्यसामग्री प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने बताए ।

अनुमतिविनाका पब्लिकेसनका पुस्तक बिक्री

दीपक ओली
कैलाली, ३ वैशाख । पाठ्यक्रम विकास केन्द्रले तोकेको सूची र पुस्तकको मूल्यलाई बेवास्ता गर्दै कैलालीमा अनुमति नपाएका पब्लिकेसनका पुस्तक बिक्री भएको छ । अनुमति नभएका पाठ्यपुस्तक बजारमा महंगोमा बिक्री भएपछि केन्द्रका निर्देशक खगराज बरालको संयोजकत्वमा पाठ्यपुस्तकको शुल्क निर्धारण समिति गठन गरिएको छ तर, केही निजी विद्यालयको मिलेमतोमा अनुमति नभएका पब्लिकेसनका पुस्तक बिक्री रोकिएको छैन ।
समितिले तय गरेको मापदण्डअनुसार बजारमा पुस्तक बिक्रीवितरण गरिएको छैन । ६० रुपियाँ पर्ने पुस्तकलाई पब्लिकेसनले विद्यालयलाई कमिसन दिने बहानामा दुई सय ५० रुपियाँसम्ममा बिक्री गरेको पाइएको छ ।
ग्रामीण भेगका निजी स्कुलले यस्ता पुस्तक बढी प्रयोगमा ल्याएर अभिभावकलाई आर्थिक भार थोपरेका छन् । बढी मात्रामा टाइम्स र एसिया पब्लिेकसनका पुस्तक बिक्री गरिएको छ । प्याब्सन कैलालीका अध्यक्ष रामजी हमालले अनुमति प्राप्त नगरेका पब्लिकेसनलाई पुस्तक बिक्री गर्न दिन नहुने बताए । अनुमति नपाएका पुस्तक पढाउने विद्यालयलाई कारबाही गर्नुपर्ने हमालको तर्क छ । जिल्ला शिक्षा अधिकारी घनश्याम अर्यालले कैलालीमा अनुमतिविनाका पब्लिकेसनका किताब बिक्रीवितरण भइरहेको गुनासो आएकाले केही दिनमै बजार अनुगमन गर्ने जानकारी दिए ।

प्रतिक्रिया