सेनाका जवानद्धरा पत्नीको हत्या

कैलाली, ३ वैशाख । कैलालीको फुलवारी गाविस ९ डी गाउँका रामबहादुर खत्रीले आफ्नी पत्नीको हत्या गरेको खुलासा भएको छ । नेपाली सेनाको शेरगण व्यारेक महोत्तरीमा सिपाही पदमा कार्यरत खत्रीले घर बिदामा आएको बेला गत चैत १९ गते आफ्नी पत्नीको हत्या गरेको हिजो शनिबार साझ पत्ता लागेको हो ।
खत्री पत्नी सरिताका माइती पक्षले आफ्नी छोरी हराएको भनेर फुलबारीस्थित प्रहरी चौकीमा खबर गरेका  थिए । तत्पश्चात् प्रहरी तथा आफन्तले सरिताको खोजी गरेपनि कंहीकतै फेला पार्न सकेका थिएनन् । सरिताको कंही,केही पत्तो नलागेपछि रामबहादुर माथि नै शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । गत शनिबार उनले सरितालाई मारेर स्थानीय मोहना नदीको किनारामा गाडेको प्रहरी समक्ष स्विकार गरेको प्रहरीले जानकारी दिएको छ ।
सिपाही रामबहादुरले माइती घरमा बस्दै आएकी २५ वर्षीया सरितालाई चैत १९ गते आफ्नो घरमा लिएर गएको थिए । सोही दिन सांझ नै सरितालाई मारेर बोरामा राखी मोहना नदी किनारामा लगेर गाडेको प्रहरीलाई जानकारी दिएका साविति बयान दिएका छन् । रामबहादुरले सरितालाई मारेपछि आफ्नै भाई ईन्द्रबहादुरको सहयायोगमा  नदी किनारमा गाडेको बताएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रामबहादुरले सरितालाई मारेर गाडेको ठाउ देखाए पछि प्रहरीले सरिताको शव निकालेर सेती अञ्चल अस्पतालमा राखेको छ । शव सडेर करङ्ग र हड्डी मात्र फेला परेको  छ ।
हत्याको आरोपमा रामबहादुर र उनका भाई ईन्द्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा समेत लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया