‘मन्त्रीकै पार्टीको बन्दको असर राजधानीमा छैन’

काठमाडौं, ३ चैत । श्रम तथा यातायात व्यवस्था मन्त्री माथबरसिंह थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपालले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा परेको छैन ।

आज बिहान केही समय आंशिक प्रभाव परेपनि नौ बजेदेखि पूर्ण रुपमा सवारी साधन, शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार पसल सबै खुलेको महानगरीय प्रहरीले जनाएको छ ।

सरकारका मन्त्रीकै पार्टीले बन्द आह्वान गरेर सर्वसाधारणलाई आतंकित बनाएपछि थापाले आक्रोशको सामना गर्नुपरेको छ ।

जनतालाई राहत, सुशासन, शान्ति सुरक्षा दिने सरकारका मन्त्री नै बन्दमा उत्रिएपछि सर्वसाधारणले जनमुक्ति पार्टीका अध्यक्ष समेत रहेका श्रम मन्त्री थापाको आलोचना गरेका हुन् ।

जातीय राज्यलगायत बिभिन्न माग सहित नेपाल बन्द आह्वान गरेको मन्त्री थापा नेतृत्वको जनमुक्ति पार्टीको सर्वसाधारणले अवज्ञा गरिदिएका हुन् ।

बन्दकर्ताका मागलाई सम्बोधन गर्न शान्ति तथा पुनःनिर्माण मन्त्री सत्या पहाडीले विज्ञप्ती मार्फत बार्तामा आह्वान गरेपनि उनीहरुले कुनै चासो देखाएका छैनन् ।

बन्द फिर्ता लिन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत मन्त्री थापालाई पटक पटक आग्रह गर्नु भएको थियो ।

उता, चितवनमा बन्द गराउन बिहानै सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष सहित १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चितवनमा सवारी आवागमनमा प्रभाव परेको छ ।

विराटनर, पोखरा लगायतका स्थानमा पनि बन्दको आंशिक प्रभाव मात्रै परेको छ । सवारी सधान अन्य दिनको तुलनामा थोरै सञ्चालनमा आएका छन् । केही जिल्लाहरुमा भने बन्दको प्रभाव देखिएका छन् ।

प्रतिक्रिया