सात महिनामा ६ जना मात्रै गए इजरायल

काठमाडौं, २ वैशाख । नेपाली कामदारका लागि आकर्षक रोजगार मुलुक इजरायलमा रोजगारी खुलेको सात महिनामा ६ जना मात्र कामदार गएका छन् । अढाई वर्षदेखी नेपाली कामदार लिन बन्द गरेको इजरायलले करिब सात महिना अघि पुनः रोजगारी खुलाए पनि झन्झटिलो भिसा प्रक्रियाका कारण मागअनुसार कामदार जान सकेका छैनन् ।
आकर्षक श्रमगन्तव्य इजरायलले नेपाली कामदारलाई केयरटेकरमा रोजगारी खुलाएको हो । तर, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भिसा प्रक्रिया बढी झन्झटिलो भएकाले कामदार पठाउने प्रक्रिया प्रभावकारी नदेखिएको बताए । यस्तै, सरकारले निर्धारण गरेको लागत खर्चमा कामदार पठाउने म्यानपावर एजेन्सीसमेत सन्तुष्ट नभएकाले पनि सात महिना अवधिमा ६ जानाभन्दा कामदार इजरायल जान नसकेको उनको भनाइ छ । त्यहाँ कामदार पठाउन सरकारले ७५ हजार रुपियाँ लागत खर्च निर्धारण गरेको छ ।
विभागका अनुसार इजरायलमा कामदार पठाउन एक सय ८२ म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ । तर, हालसम्म चारवटा म्यानपावर कम्पनीले मात्र कामदार पठाएको विभागले जनाएको छ । करिब सात महिना अवधिमा मिराकल ओभरसिजले दुई, मेरिगोल्ड ओभरसिजले दुई, युनिभर्सल इन्टरनेसनलले एक र अर्को एक म्यानपावरले एकजना कामदार पठाएको विभागको तथ्यांक छ ।
सो अवधिमा कर्मा इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसले ३०, मिराकल ओभरसिजले ३०, मेरिगोल्ड ओभरसिजले २५, सूर्य इन्टरनेसनले २०, एलाइन्स ह्युमन रिसोर्सले २५, युनिभर्सल इन्टरनेसनलले २५ र गलिभेन्ट मेनपावरले ३० जना कामदारको माग ल्याएको विभागले जनाएको छ । ती कम्पनीले एक सय ८६ को पूर्वस्वीकृति लिए पनि ६ जना भन्दा बढी कामदार नगएको विभागका अधिकारी बताउँछन् ।
विभागका महानिर्देशक भट्टराईले लामो समय बितिसक्दा पनि इजरायल जाने कामदार संख्या न्यून रहेकाले दूतावासमार्फत आवश्यक समन्वय र छलफल भइरहेको बताए । ‘इजरायलमा कामदार पठाउन देखिएको समस्याका विषयमा दूतावासमार्फत आवश्यक छलफल भइरहेको छ,’  उनले भने । यसअघि गएका कामदारलाई घरेलु कामदार तालिम लिनुपर्ने व्यवस्था भए पनि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सिफारिसमा विभागले अन्तिम श्रमस्वीकृत दिएको जनाएको छ । त्यहाँ केयरटेकरमा जाने कामदारले भाषा, घरेलु कामसम्बन्धी तालिमलगायतको तयारी गर्नुपर्ने पनि विभागले जनाएको छ ।
यसअघि म्यानपावर कम्पनीले बढी रकम लिएको तथा भाषा, संस्कृति र तालिम नदिई कामदार पठाएको भन्दै इजरायलले नेपाली कामदारका लागि रोक लगाएको थियो । पछिल्लो समयमा सरकार आफैंले लागत खर्च निर्धारण गर्ने जनाएपछि इजरायलले नेपाली कामदार लिन सहमत भएको हो । सरकारले इजरायल जाने कामदारसँग म्यानपावर एजेन्सीले अधिकृत हवाई टिकटबाहेक ७५ हजार रुपियाँसम्म लिनपाउने व्यवस्था गरेको छ । व्यवसायीले भने दुई लाख रुपियाँभन्दा कम लागतमा कामदार पठाउन नसकिने जनाउँदै आएका छन् । इजरायलमा केयरटेकरमा जाने कामदारले न्यूनतम ८४ हजार रुपियाँ पारिश्रमिक पाउने सरकारले जनाएको छ ।

प्रतिक्रिया