कैलाली उद्योग वाणिज्य संघमा त्रिपक्षीय भिडन्त

कैलाली, २ वैशाख । ९ वैशाखमा गते हुने कैलाली उद्योग वाणिज्य संघको चुनावमा व्यापारीहरू आ-आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् । यतिखेर उनीहरू आफूतिर भोट तान्न विभिन्न नारासहित व्यापक रूपमा चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
निजी क्षेत्रको महत्त्वपूर्ण संगठनका रूपमा रहेको वाणिज्य संघको चुनावी मैदानमा वर्तमान वरिष्ठ उपाध्यक्ष गजेन्द्रवीर चन्द, कर्ण कुँवर र महासचिव मोहन शर्माले अध्यक्ष पदमा र अन्य १७ पदमा पनि आ-आफ्नो प्यानलसहित फरकफरक चुनावी नारा लिएर उम्मेद्वारी घोषणा गरेका छन् । संघको १८ जनाको जिल्ला कार्यसमिति हुने प्रावधान छ । ९ गते हुने कैलाली उद्योग वाणिज्य संघको ४०औँ साधारणसभा हो ।
तीनै जनाले स्थानीय सञ्चारमाध्यम तथा बजारमा प्रचारप्रसार, पाम्पलेटिङ गरी उद्योग वाणिज्य संघमा केही नौलो काम गरेर देखाउने बताउँदै व्यापारीको घरदैलोमा भोट माग्न थालेका छन् । अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका मोहन शर्माले व्यवसायीहरूको हकहित संरक्षण एवं गन्तव्य सुदूरपश्चिमका लागि नयाँ नेतृत्व भन्ने मूल नारा दिएका छन् । उपाध्यक्ष उद्योग, वाणिज्य र वस्तुगततर्फमा क्रमशः प्रकाश जंगबहादुर सिंह, नारायण लम्साल र पद्मप्रसाद आचार्य तथा महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः उपेन्द्र विष्ट, देवेन्द्र हमाल र सुरत कार्कीसहितको प्यानल घोषणा गरी चुनावी मैदानमा उत्रेका छन् । शर्मा कार्यसमिति सदस्य र महासचिव पदमा रही विगत छ वर्षदेखि निरन्तर वाणिज्य संघमा रहँदै आएका छन् । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार गजेन्द्रवीर चन्दले व्यापारीको व्यावसायिक हकहित संरक्षण एवं सुदूरपश्चिमको आर्थिक सम्भावना उजागर गर्न भन्ने नारा अघि सारी उपाध्यक्ष उद्योग, वाणिज्य र वस्तुगततर्फमा क्रमशः लोकराज भट्ट, नवीन जोशी र शिवकुमार फुलारा तथा महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः रवीनकान्त पन्त, दिनेश लम्साल र हरिशंकर ठाकुरसहितको पूरै प्यानलको घोषणा गरेका छन् । चन्द विगत आठ वर्षदेखि कार्यसमितिमा रहँदै आएका छन् ।
उता, अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कर्ण कँवरले व्यवसायीको हकहित, संरक्षण एवं समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि नयाँ नेतृत्व  भन्ने नारासहित उपाध्यक्ष उद्योग, वाणिज्य र वस्तुगततर्फ क्रमशः राजेश भण्डारी, बलराम चपाई र लालबहादुर बोगटी तथा महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः ओम विष्ट, शंकर बोगटी र जयराज जोशीसहितको प्यानलको घोषणा गरेका छन् ।

प्रतिक्रिया