रिक्सा चलाएर पढाइ खर्च

आधुनिक युगका किशोर पुस्ताको जीवन पद्धति कस्तो होला ? सायद  नाम चलेको स्कुल, कलेजमा अध्ययन । हातमा आधुनिक मोबाइल सेट । चुज पाइन्ट, टाई र सुट । सहरिया किशोरहरूको यस्तो दृश्य राजधानीका साँघुरादेखि खुला गल्लीहरूमा सहजै देख्न सकिन्छ पनि ।
कैलालीको मालाखेती गाविस-९ खैरानाका दीपेन्द्र एसकेको जीवनशैलीमा भने त्यस्तो कुनै छनक देखिँदैन । धनगढी नगरपालिकास्थित वासुदेवी उच्च माविमा कक्षा सातमा पढ्ने उनको जीवनमा आधुनिक किशोरवयको भन्दा ‘आकाश-पाताल’को भिन्नता देखिन्छ ।
साताका ६ दिन विद्यालयमा गएर अध्ययन गर्ने एसके शनिबार कहिल्यै घर जाँदैनन् । ‘घर गयो भने बाल्यकालका साथीसंगी भेटिन्छन्’, उनले भने, ‘बरु रिक्सा चलायो भने आफ्नो खर्च त निस्किन्छ ।’ दीपेन्द्र आफ्नो खर्चको जोहो गर्ने मात्र होइनन्, तीन-चार महिनामा घर जाँदा नुन, तेल र भाइबहिनीलाई सस्तोमस्तो लुगा पनि लगिदिन्छन् । जाली गाउँमा मामाको घरमा बस्दै आएका दीपेन्द्रले हरेक शनिबार रिक्सा चलाउने कुरा उनका दौँतरीलाई भने थाहा छैन ।
आफ्नै मिहिनेत र श्रमले चार कक्षादेखि नै आफ्नो खर्चको जोहो आफैँ गर्दै आएका दीपेन्द्रले विद्यालयमा ठूलो रकम तिर्न नपर्नु उनका लागि वरदानजस्तै बनेको छ । भन्छन्- ‘वर्षमा कुल मिलाएर तीन-चार सयजति तिर्नुपर्छ । त्यसैले पनि कमाएको बाँकी रकम घरखर्चका लागि दिन सकिरहेको छु ।’ दीपेन्द्र हरेक शनिबार रिक्सा चलाएरै पनि महिनामा हजार रुपियाँसम्म कमाउने गरेको बताउँछन् ।
कक्षामा पहिलो स्थान नआए पनि कहिल्यै असफल भएका छैनन् उनी । आफ्नो जीवनशैलीप्रति सन्तुष्ट भए पनि साथीभाइले थाहा पाए खिसी गर्छन् कि भन्नेचाहिँ मनमा सधैँ हुन्छ । उनले भने, ‘मसँग पढ्ने साथीहरू राम्राराम्रा मोबाइल बोकेर स्कुल आउँछन् । नयाँ लुगा फेरिरहन्छन् । मैले रिक्सा चलाएको थाहा पाए के भन्लान् ?’ दीपेन्द्र राम्रो जागिर पाउने शिक्षा हासिल नभएसम्म यसै गरी दुःख गरेर पढाइ भने नछाड्ने बताउँछन् । उनले भने, ‘मैले दुःख गरेर नपढ्ने हो भने मेरा कुनै पनि भाइबहिनीले पढ्न सक्दैनन् । त्यसैले जागिर नपाउन्जेल रिक्सा चलाएरै भए पनि पढेरै छोड्छु ।’
कहिलेकाहीँ शनिबार साथीभाइले ‘फिलिम हेर्न जाऊँ’ भन्दा भने दीपेन्द्रलाई ठूलै सकस पर्छ । नजाउ“m भनौँ साथीभाइदेखि एकलकाँटे भइने ! जाउ“m भने आफ्नो पैसा जोहो गर्ने मौका नै गुम्ने डर । त्यस्तो अवस्थामा उम्कने उपाय एउटै हुन्छ, ‘म गाउँ जान्छु’ भनिदिन्छन् । मामाको पनि आयआर्जन राम्रो नभइदिनाले आफूले रिक्सा चलाएको उनले सुनाए- ‘मामाहरूले बस्न दिनुभएको छ । कमाइ पनि भएको भए म रिक्सा चलाउने थिइनँ ।’
सहरबजारमा अभिभावकले गतिलो फोन नकिनिदिए बालबालिका अनेकथरी गरेर घुक्र्याउँछन् । दीपेन्द्रलाई पनि मोबाइल किन्ने रहर छ तर आफ्ना लागि होइन, परिवारका लागि । भन्छन्, ‘आमाबुबा कमजोर हुनुहुन्छ । बिरामी हुनुभयो कि भनेर साह्रै पिर लाग्छ । फोन भइदिए यताबाट पिसिओमा गएर पनि खबर बुझ्न सकिन्थ्यो होला कि ?’
कहिलेकाहीँ भने उनलाई योभन्दा फरक काम गर्न पाए हुन्थ्यो झैँ लाग्छ । विद्यालयमा पढाउने शिक्षक नै कहिलेकाहीँ सडकमा उभिएर रिक्सा पर्खिरहेको दृश्यले उनलाई लखेट्दो रहेछ । उनले भने, ‘सर र साथीभाइ देखे बाटै बदलेर हिँडिदिन्छु ।’ रिक्सा चढेर सानो बालक भन्दै हेपेर पैसा नदिनेहरूसँग उनले सामना गर्नुपरेको रहेनछ । भने- ‘२० को साटो १५ दिनेहरू भेटिन्छन्, दिँदै दिन्नँ भन्नेहरू चढेका छैनन् ।’

प्रतिक्रिया