झमकलाई श्रमिकको सम्मान


धनकुटा, २ वैशाख । साहित्यकार झमक घिमिरेलाई शनिबार धनकुटामा सम्मान गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकको संस्था अनाम मण्डली साहित्य समाजले घिमिरेलाई रु एक लाख १६ हजार एक सय नगदसहित सम्मान गरेको हो । घिमिरेलाई बिबिसीकर्मी रवीन्द्र मिश्र, साहित्यकार कृष्णप्रसाद वस्तीलगायतले नगद एवम् सम्मानपत्र प्रदान गरेका थिए ।
झमकलाई मलेसियाबाट पठाइएको दोसल्ला, कलम र डायरीसमेत प्रदान गरिएको थियो । सम्मान पाएपछि उनले खुट्टाले लेखेर प्रतिक्रिया दिँदै सम्मानले आफूलाई साहित्यसिर्जनामा लाग्न थप प्रेरणा मिलेको बताइन् । झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालको व्यवस्थापन एवम् देशभक्त प्रवासी नेपाली श्रमिक मलेसियाको आयोजनामा कार्यक्रम भएको हो । यसअघि झमकको दसौं कृतिका रूपमा प्रकाशित जीवन काँढा कि फूलले २०६७ सालका लागि मदन पुरस्कार हासिल गरेको छ । शारीरिक रूपले अपांगता रहेकी उनी कलमलाई खुट्टाका औंलाले च्यापेर १६ वर्षको उमेरदेखि साहित्य सिर्जनामा तल्लीन छिन् ।

प्रतिक्रिया