४० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं, १७ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज -शनिबार) २१ वर्षपछि खुलामञ्चमा आमसभा गर्दै छ । शान्तिप्रक्रिया टुंग्याई संघीयता र पहिचानसहितको नयाँ संविधान जारी गर्न तथा मधेस मुद्दा कार्यान्वयनमा दबाब दिन भन्दै मोर्चाले आमसभा गर्न लागेको हो । यसअघि ०४७ सालमा नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष गजेन्द्रनारायण सिहले खुलामञ्चमै आमसभा गरेका थिए ।
‘काठमाडौं हाम्रा लागि मत पाउने ठाउँ नभए पनि हामी सम्मानजनक उपस्थिति देखाउने प्रयास गर्दै छा,’ तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले भने, ‘यो आमसभा सन्देशमूलक हुनेछ ।’
आमसभाअघि तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालिने भएको छ । र्‍यालीको जिम्मेवारी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाले लिएका छन् । जनपरिचालन  समितिका उपसंयोजक रहेका लामाले ३५ देखि ४० हजार कार्यकर्ता उतार्ने दाबी गरे । ‘हामी ३५ देखि ४० हजारसम्म कार्यकर्ता ओसार्दै छौँ । र्‍यालीमा मात्र दुई हजार पाँच सय मोटरसाइकल ल्याउनेछौँ,’ लामाले भने । आमसभामा काठमाडौंका बासिन्दालाई पनि उपस्थितिका लागि अपिल गरेको सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । उनका अनुसार आमसभालाई मोर्चामा आवद्ध पाँचवटै दलका नेताले सम्बोधन गर्नेछन् ।

 

आमसभा गर्न छुट्याइएको २५ लाखमा ‘हिनामिना’

मोर्चामा आबद्ध पाँचवटै दलले आमसभा तयारी समितिलाईर् दिएको २५ लाख रुपियाँ हिनामिना भएको आरोप नेताहरूले लगाएका छन् । पाँचवटै दलले पाँच-पाँच लाखका दरले तयारी समितिलाई दिएको रकम हिनामिना भएको उनीहरूको आरोप छ । उनीहरूले पहिलो किस्ता १० लाख सुरुमै र दोस्रो किस्ताबापत १५ लाख रुपियाँ बिहीबार बुझाएका थिए । तयारी समितिमा दोस्रो तहका नेता रामेश्वर राय यादव, जितेन्द्र देव, लक्ष्मणलाल कर्ण, मनीष सुमन, राजकिशोर यादवलगायत छन् ।
तयारी समितिले ६ वटा उसमिति बनाएको छ । प्रचार-प्रसार उपसमितिको संयोजकमा खानेपानी लिमिटेडका महाप्रबन्धकसमेत रहेका तमलोपाका केन्द्रीय सदस्य जितेन्द्र सिंह छन् । यस समितिलाई आठ लाख रुपियाँ दिइएको छ । लामाको संयोजकत्वमा रहेको जनपरिचालन उपसमितिले आठ लाख नै पाएको छ । उपसंयोजक उदय तिवारीलाई रकम दिइएको पार्टी स्रोतले जनाएको छ । लामालाई भने १० हजार मात्र दिइएको छ । लामाले भने आफूले पार्टीबाट रकम नलिएको बताए ।
यसैगरी, स्वयंसेवक परिचालन समितिका संयोजक सुरेश मण्डललाई एक लाख ६८ हजार, स्वागत उपसमिति संयोजक माधुरी सिहलाई ५० हजार र संस्कृतिक उपसमिति संयोजक प्रमोद झालाई ५० हजार रुपियाँ दिइएको तयारी समितिले जनाएको छ ।
उपसमितिका सदस्यहरूले तयारी समितिबाट खर्च लिए पनि गाडीमा तेल भर्न, पर्चा छपाउनलगायत अन्य प्रयोजनका लागि भन्दै मधेसी मन्त्री र उच्च प्रशासकबाट चन्दा असुलेको स्रोतको भनाइ छ । ‘यीे सबै हिसाब-किताब आमसभापछि हामी खोज्छौँ,’ तयारी समितिका एक सदस्यले भने ।

प्रतिक्रिया