वैज्ञानीक आधारमा राज्यपुनर्संरचना गर्न सुझाव

काठमाडौं, १७ चैत । संविधानसभाको आजको बैठकमा पनि जनजाती सभासदले सदाझै जातीय राज्यका पक्षमा धारणा राखेका छन् भने ठूला दलका केही सभासदले भने वैज्ञानीक आधारमा संघीयता बनाउन सुझाव दिएका छन् ।
छलफलमा भाग लिँदै एकीकृत माओवादीका सभासद् कालीबहादुर मल्लले वैज्ञानिक आधारमा राज्यको पुनः संरचना गर्नुपर्नेमा जोड दिए । उनले सबै जात जातिलाई अधिकार सम्पत्र गराउने गरी राज्य पुनः संरचना गरिए त्यसले कुनै अर्थ नराख्ने बताए ।
कांग्रेस सभासद लक्ष्मण घिमिरेले राज्य पुनःसंरचना आयोगको बहुमत पक्षले प्रस्तुत गरेको प्रतिवेदन अपूर्ण रहेको भन्दै आयोगका अल्पमत सदस्यहरूले प्रस्तुत गरेको प्रतिवेदन नै वैज्ञानिक भएको दाबी गरे ।
बहुभाषी, बहुधर्म तथा जात जातिको मुलुक भएकाले एउटा जातिलाई मात्रै राज्य दिने र राज्यको पुनःसंरचना गरिनु कुनै पनि अर्थमा जायज नभएको उनको भनाई छ । घिमिरेले नेपाल र नेपाली हुँ भनेर त्यसैलाई केन्द्रमा राखेरै राज्यको पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।
एमालेका सभासद पृथ्वीसुब्बा गुरुङले विभिन्न खालका असमानता अन्त्य गर्नका लागि सङ्घीयता आवश्यक रहेको चर्चा गर्दै हिमाल तराई जोड्ने गरी सङ्घीयताको निर्माण गर्नु आवश्यक रहेको बताए ।
जनमुक्ति पार्टीका सभासद् क्षमा राईले वैज्ञानिक आधारमा राज्यको पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।
नेपाल सद्भावना पार्टी(आनन्दीदेवीका) सभासद् मोतीलाल दुगडले अर्थपूर्ण रूपमा सङ्घीयताको निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया