बैतडी बन्यो यु-१६ राष्ट्रिय च्याम्पियन

काठमाडौं, १६ चैत । क्षेत्र नम्बर ६, बैतडीले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा बैतडीले क्षेत्र नम्बर ४, भैरहवाको चुनौती समाप्त पार्दै ६ विकेटले जित हात पारेको हो । यसका साथै भैरहवा लगातार दोस्रोपटक उपविजेतामै सीमित हुन पुग्यो ।
समूहचरणमा अपराजित रहँदै विजेता बनेको बैतडीले अर्को अपराजित टोली भैरहवाविरुद्ध स्तरीय प्रदर्शन गर्‍यो । बैतडीले विजेता टोलीसरह नै सबै पक्षमा उत्कृष्टता देखायो ।
टस जिती पहिला ब्याटिङ गरेको भैरहवा १ सय ३९ रनमा सीमित भएको थियो । निर्धारित ४० ओभर नै क्रिजमा टिके पनि बैतडीको कसिलो बलिङ प्रदर्शनअघि भैरहवाले अत्यासलाग्दो चुनौती प्रस्तुत गर्न सकेन । भीम सार्की, जगदीश चन्द, दीपेन्द्र चन्द र पुरबहादुर सिंहले समान दुई विकेट लिएपछि भैरहवा कम योगफलमा सीमित भएको हो ।
प्रारम्भिक ब्याट्सम्यानको सानदार प्रदर्शनपछि बैतडीले प्राप्त लक्ष्य २८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको बैतडीका प्रारम्भिक ब्याट्सम्यानद्वय दीपेन्द्र चन्द र टेकेन्द्र मल्लले समान ३५ रनको योगदान गरे । ५३ बल खेलेका दीपेन्द्रले पाँच चौका र ५२ बल खेलेका टेकेन्द्रले तीन चौका प्रहार गरेका थिए । पुरबहादुरले ११ रन जोडे । अविजित रहँदै जगदीशले १८ र भीम सार्कीले १२ रन बनाए । बलिङतर्फ भैरहवाका लागि इकलाख अहमदले दुई विकेट हात पारे ।
यसअघि सुरुआती तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको भैरहवाको इनिङमा चौथो विकेटका लागि पृथ्वी क्षेत्री -१९) र इकलाख -४३) ले ४५ रनको साझेदारी गरी कम योगफलमा सीमित हुन सक्ने टोलीको संकट टारेका थिए । कुनै समय १३-३ को स्थितिमा रहेको भैरहवाको सो साझेदारी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित दीपेन्द्रले पृथ्वीलाई आउट गरी तोडे । सातौं विकेटका रूपमा विकास बमको बलमा टेकेन्द्रबाट समातिनुअघि ६९ बल खेल्दै इकलाखले ६ चौका प्रहार गरेका थिए । त्यस्तै दीपेन्द्रको बलमा एलबिडब्लु धरापमा पर्नुअघि ४१ बलको सामना गरेका पृथ्वीको नाममा एक चौका रहयो ।
भैरहवाका लागि पछिल्लो क्रमका विशाल सुनुवारले १३, राहुल भट्टराईले १७ र परवेज आलमले १२ रनको योगदान गरे । १५ वाइडसहित बैतडीले १८ अतिरिक्त रन दिएको थियो ।
भैरहवाका अलराउन्डर इकलाख म्यान अफ द सिरिज भए । उनले चार खेलमा ५९ रन जोड्नुका साथै २७.५ ओभर बलिङ गरी ७३ रन खर्चिएर कुल ११ विकेट लिएका थिए । क्षेत्र नम्बर २, वीरगन्जका अकिब अली अन्सारी उत्कृष्ट ब्याट्सम्यान र क्षेत्र नम्बर ६, बैतडीका भीम सार्की उत्कृष्ट बलर घोषित भए । इकलाखको भन्दा दुई विकेट कम लिएका भीमले तीन खेल खेल्दै १७.३ ओभरमा ८५ रन खर्चिएका थिए ।
त्यस्तै, अन्सारीले विस्फोटक ब्याटिङ गर्दै तीन खेलमा १ सय ८५ रन बनाएका थिए । उनले एउटै खेलमा प्रतियोगिताकै सर्वाधिक ८६ रन पनि बनाएका थिए । म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र म्यान अफ द फाइनललाई आइडियल इङलिस स्कुलले ‘प्लस टु’ का लागि छात्रवृत्ति दिएको छ । प्रतियोगितामा विजेता बन्न सफल बैतडीले १५ हजार रुपियाँ प्राप्त गर्‍यो । त्यस्तै उपविजेतामा सीमित भैरहवाले पनि १० हजार रुपियाँ हात पार्‍यो ।
दुई वर्षपहिले भएको यु-१६ राष्ट्रिय क्रिकेटको संस्करणमा पनि फाइनलमा भैरहवा वीरगन्जद्वारा पराजित भएको थियो । यही प्रतियोगिताका आधारमा आसन्न एसिसी यु-१६ प्रतियोगिताका लागि टोलीको छनोट हुनेछ ।

प्रतिक्रिया