खानेपानी संस्थानकै पानी दूषित

नेपालगन्ज, १६ चैत । नेपाल खानेपानी संस्थानले नेपालगन्जमा वितरण गरेको पानीमा झाडापखाला र हैजा फैलाउने कोलिफाम जीवाणु फेला परेको छ । ढलसगै बिछ्याइएका वर्षौ पुराना पाइप लिकेज भएका कारण खानेपानीमा प्रदूषण मिसिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालगन्जलगायत बाकेका विभिन्न गाविसमा वितरण भइरहेको पानी पिउनयोग्य नरहेको जनाएको छ । ‘सबैभन्दा बढी नेपालगन्ज बजारकै पानी दूषित छ,’ प्रयोगशालाका माइक्रोबायोलोजिस्ट खगेन्द्र केसीले भने, ‘पानीका नमुना परीक्षणमा प्रदूषण फेला पर्‍यो ।’
बा“केका केही गाविस र नगरपालिकामा १९ देखि २२ कात्तिकसम्म संकलन गरिएका २० वटा नमुना प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १२ वटामा प्रदूषणयुक्त जीवाणु फेला परेका हुन् । ‘नमुना परीक्षणमा १० भन्दामाथि कोलिफाम जीवाणुको मात्रा भेटिएको छ,’ केसीले भने, ‘यस्तो पानी पिउनयोग्य छैन, हैजा र झाडापखालाको महामारी नै आउन सक्छ ।’
नेपालगन्जका सदरलाइन, गगनगन्ज, बसपार्क र वडा नम्बर १७ को पानीमा अत्यधिक जीवाणु भेटिएका छन् । फत्तेपुर गाविस–७ र ८, बिनौना–९, होलिया–९, महादेवपुरी र इन्द्रपुर–९ मानपुरमा वितरण भइरहेको पानी पनि पिउनयोग्य नरहेको परीक्षणमा पत्ता लागेको हो ।
‘ट्युबवेलको मात्र होइन, खानेपानी कार्यालयले वितरण गरेको धाराको पानीमा समेत कोलिफाम जीवाणु भेटिएको छ,’ केसीले भने । एकदेखि तीन प्रतिशत जीवाणु भेटिएका ठाउका पानीको गुणस्तरलाई सामान्यमा राखिएको छ । कोहलपुर र पुरैनाको पानी ‘ठीकै’ रहेको देखिएको छ । परीक्षणमा बेतनी, मनिकापुर र उढरापुर गाविस तथा नगरपालिकाकै फुल्टेक्रा, धम्बोझीलगायत क्षेत्रमा वितरण गरिएको पानी  पिउनयोग्य पाइएको छ ।
‘ती नमुना साउनमा संकलन गरिएको भए अझ भयावह तथ्य सार्वजनिक हुन्थ्यो,’ विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुरारीप्रसाद उपाध्यायले भने, ‘पानीकै कारण नेपालगन्जमा झाडापखालाको प्रकोप फैलेको हो ।’
नेपालगन्जमा १२ साउन ०६७ मा झाडापखाला र हैजाको प्रकोप फैलिएको थियो । हैजाले आठजनाको ज्यान गएको थियो भने एक हजार पाच सय ३४ जना बिरामी परेका थिए । खानेपानी दूषित भएकै कारण हैजा फैलिएको प्रारम्भिक तथ्य फेला परेपछि राष्ट्रिय प्रयोगशालाले नमुना संकलन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाकेका प्रमुख जीवनकुमार मल्लले बताए ।
त्यस्तो पानी पिउदा हैजा र झाडापखालाजस्ता महामारी फैलिन सक्ने सम्भावना भएकाले तत्कालका लागि घरेलु शुद्धीकरण विधि अपनाएर पानी पिउन स्वाथ्यकर्मीले सल्लाह दिएका छन् । ०३२ सालतिर बिछ्याइएका पाइप फेर्ने काम खानेपानी संस्थानले गरेको छैन । बजेट अपुग हुदा समस्या भएको खानेपानी संस्थानका प्रमुख दीपज्योति शाक्यले बताए । उनले लिकेज पाइप फेर्ने काम गरिने जानकारी दिए ।

प्रतिक्रिया