त्रिविको गाडीमा “उपकुलपत्नी” को रजाइँ

काठमाडौं, १६ चैत । त्रिभुवन विश्वविद्यालयबाट उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले दुईवटा गाडी लिएका छन् । एउटा गाडी उनी आफै प्रयोग गर्छन् भने अर्कोमा उनकी श्रीमती र आफन्त सयर गर्छन् ।
श्रीमान् श्रीमती दुवैलाई गाडी सुविधा दिने व्यवस्था सरकारको कुनै पनि ऐनमा छैन । तर, उपकुलपति महर्जन सुविधाको एउटा गाडी आफ्नी श्रीमतीले चढ्ने गरेको निर्धक्क स्विकार्छन् । ‘हो, मलाई दुईवटा गाडी दिइएको छ,’ उनले सौर्यसग भने, ‘एउटा गाडी आफू चढ्छु, अर्को श्रीमती र परिवारले प्रयोग गर्छन् ।’
उपकुलपति महर्जनले बा.२च४२५४ नम्बरको टोयोटा कम्पनीको गाडी श्रीमती र परिवारलाई प्रयोग गर्न दिएका हुन् । श्रीमतीले प्रयोग गर्ने गाडीमा खपत हुने इन्धन खर्च पनि त्रिविले व्यहोर्दै आएको छ । त्रिविका ड्राइभरले नै उपकुलपतिका आफन्त ओसारपसार गर्छन् । अर्को बा.७च५८४४ नम्बरको नया कार भने महर्जन आफैले प्रयोग गर्ने गरेका छन् ।
उपकुलपतिको घरमा पार्किङ गर्ने ठाउ नभएकाले दुवै गाडी अन्यत्रै राख्ने गरिएको छ । कीर्तिपुरको नया बजारस्थित उपकुलपतिको घरमा गाडी राख्ने ठाउ“ छैन । महर्जनले चढ्ने गाडी प्रायः त्रिवि केन्द्रीय कार्यालयमै राखिने गरे पनि अर्को गाडी नेपाल बैंकपछाडि राख्ने गरिएको छ । उपकुलपतिका परिवारजनका लागि सो गाडी र ड्राइभर ‘स्ट्यान्डबाई’ रहन्छन् ।
उपकुलपतिकी श्रीमती चढ्ने गाडी यसअघि त्रिविका अधिकारी उपत्यकाबाहिर अनुगमनमा जादा लैजाने गरिएको थियो । अहिले गाडी भाडामा लिएर अनुगमनमा जाने गरिएको छ । त्रिविको अनुगमन समितिले उपत्यकाबाहिर जान भाडामा गाडी लिने गर्छ ।
अनुगमन समितिका प्रमुख उदय सिलवालले अनुगमनका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको बताए । ‘मैले चढ्ने गाडी बाहिर जान सक्दैन,’ समिति प्रमुख सिलवालले भने, ‘बाहिर अनुगमनमा जादा गाडी ‘हायर’ गरेर लैजान्छौ ।’
त्यसो त त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले पनि दुईवटा गाडी लिएका छन् । तर, उनले आफ्ना परिवार वा श्रीमतीलाई गाडी प्रयोग गर्न दिएका छैनन् । उनले प्रयोग गर्ने गाडी बा.६च३०२९ र बा.३च८४९८ नम्बरका हुन् ।

प्रतिक्रिया