मूल्यवृद्धि हुने सूचना पाएपछि कृत्रिम अभाव

सुर्खेत, १५ चैत । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने सूचना पाएपछि सुर्खेत जिल्लास्थित विभिन्न पेट्रोल पम्पहरुले बजारमा कृत्रिम अभाव सिर्जना गरेको खुलासा भएको छ । जिल्ला बजार अनुगमन समितिले मंगलबार गरेको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको मुख्य वृद्धि हने सूचना पाएपछि पम्पहरुले केही दिनदेखि कृत्रिम अभाव सिर्जना गरेका थिए ।

जिल्ला अनुगमन समितिले मंगलबार वीरेन्द्रनगरस्थित–६ वटा पेट्रोल पम्पहरुको अनुगमन गरेको थियो । ती सबैमा पेट्रोलियम पदार्थ भएपनि उपभोक्ताहरुलाई छैन भनेर कृत्रिम अभाव सिर्जना गरेको समितिले जनाएको छ ।

समितिले ६ वटै पेट्रोलियम पम्पमा गरेको अनुगमनका क्रममा करिव २४ हजार लिटर पेट्रोलियम पदार्थ स्टक भएको फेला पारेपछि कृत्रिम अभाव सिर्जना गरेको तथ्य खुलेको हो ।  अनगुमनका क्रममा सबै भन्दा धेरै दिपमाला आयल स्टोर बांगेसिमलमा ५ हजार २ सय ५९ लिटर डिजेल र ४ हजार १ सय २१  लिटर पेट्रोल रहेको पाइएको छ ।

यस्तै बुलबुले आयल स्टोरमा ४ हजार १ सय १२ लिटर डिजेल र ८ सय १४ लिटर पेट्रोल भएर पनि अभाव देखाएको समितिले जनाएको छ ।

नारायण आयल स्टोरमा १ हजार ५ सय ८ लिटर डिजेल र १ हजार ७ सय ८३ लिटर पेट्रोल, उमा आयल स्टोरमा ६ सय लिटर डिजेल र पेट्रोल ३ हजार ४ सय ९४ लिटर, गंगामाला देउतीबज्यै आयल स्टोरमा २ सय ३१ लिटर डिजेल र १ हजार ३ सय ४२ लिटर पेट्रोल र बगाले आयल स्टोरमा ३ सय ८ लिटर डिजेल र २ सय ९७ लिटर पेट्रोल स्टक रहेको पाइएको छ ।

मंगलबार मात्रै पेट्रोलियम पदार्थमा प्रतिलिटर ४ रुपैया मूल्य वृद्धि भएको थियो । अनुगमन टोलीले स्थानीय उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर विक्री वितरण गर्न पम्पहरुलाई निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मुनाफा धेरै कमाउने उद्देश्यले स्टक गरेर राख्ने पेट्रोल पम्पहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाउने तयारी भएको बताएका छन् । अनुगमन गरिएकामध्ये २ वटा पेट्रोल पम्पहरुले अधिक मात्रामा पेट्रोलियम पदार्थ स्टोर गरेर राखिएको पाइएको छ । दुवै पम्पलाई शीघ्र विक्री वितरण गर्न निर्देशनसमेत दिइएको उनले जनाए ।

प्रतिक्रिया