माओवादी संस्थापन पक्षका पनि कार्यक्रम

काठमाडौं, १५ चैत । बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका कार्यक्रमसँग नजुध्ने गरेर एकीकृत माओवादीको संस्थापन पक्षले पनि दुई महिने जनपरिचालनका समानान्तर कार्यक्रम घोषणा गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा आज बिहान बसेको केन्द्रीय समितिको अनौपचारीक बैठकले आमसभा, भेला लगायतका २ महिने कार्यक्रम तय गरेको हो । बैठकमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह भने सहभागी भएनन् ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले दुबै समूहलाई असर नपर्ने गरेर जनपरिचालनका कार्यक्रम तयार गरिएको जानकारी दिए । उनले उपाध्यक्ष बैद्य समूहको आग्रहमा बैठक अनौपचारीक रुपमा मात्रै बसेको दाबी गरे ।

शान्ति र संविधानका बिषयमा पनि छलफल भएको भन्दै प्रवक्ता शर्माले तोकिएकै समयमा जिम्मेवारी पुरा गर्न तयार रहेको बताए । उनले बैद्य समूहलाई मनाउन बार्ता समेत गर्ने बताए ।

जनपरिचालनका कार्यक्रम ब्यवस्थित बनाउन माओवादीले स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन भएको छ ।

कार्यक्रम अनुसार वैशाख १ गते संस्थापन पक्षको बृहत भेला गरिने छ । भेलामा वाईसिएल, समायोजनमा जाने तथा पुनःस्थापनामा जाने जनमुक्ति सेना लगायत बिभिन्न संघसंगठनको सहभागिता रहने नेता वर्षमान पुनले जानकारी दिए ।

संस्थापन पक्षले चैत २४ गते पार्टी स्थापना दिवस,  वैशाख १० गते लेनिन दिवस र वैशाख १९ गते मे दिवसका अवसरमा जनपरिचालनको कार्यक्रम गर्ने छ ।

वैद्य समूहले सरकार र पार्टी नेतृत्वका विरुद्ध आन्दोलन घोषणा गरेका कारणपनि त्यसलाई वैचारिक र सांगठनिक हिसावले सामना गर्न संस्थापन पक्षले जनपरिचालनका साथै प्रशिक्षण कार्यक्रमहरु तय गरेको छ ।

प्रतिक्रिया