युकेएफसी दार्जिलिङ सेमिफाइनलमा


भोजपुर, १२ चैत । आमन्त्रण अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको आइतबार भएको खेलमा युनाइटेड खर्साङ टिम दार्जिलिङले आयोजक सोल्टी युनाइटेडलाई २ का विरुद्ध ३ गोलले पराजित गरेको छ । सोल्टी युनाइटेड खेल सुरु भएको दोस्रो मिनेटमै लिएको अग्रतालाई जोगाउन नसक्दा करिब ३ हजार घरेलु दर्शकमाझ हार आत्मसात गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
दर्शकबाट पाएको साथसँगै हौसिएको सोल्टी युनाइटेडका जर्सी नम्बर १३ का नरेश राई विपक्षी डिफेन्डरलाई छलाउँदै खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्न सफल भएका थिए । पहिलो हाफको केही समय खेललाई आफ्नो पकडमा राखेको सोल्टी युनाइटेडका खेलाडीले लय गुमाएको फाइदा उठाउँदै खेलको ३१औं मिनेटमा युकेएफसीका जर्सी नम्बर १७ का निवास रानाले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याइपुर्‍याए । डी-बक्सनजिकै पाएको प|mी-किकमा पाएको बललाई हेड गर्दै रानाले सुन्दर गोल गरेका थिए ।
खेललाई बराबरीमा ल्याएको २ मिनेट नबित्दै युकेएफसीका जर्सी नम्बर ९ का छिरिङ गोलेले विपक्षी रक्षकलाई वान टु वानमा छक्याउँदै प्रहार गरेको बलले जाली चुमेपछि दार्जिलिङले २-१ को अग्रता लिन सफल भयो ।
खेलको पहिलो हाफमा दार्जिलिङले अग्रता लिएपछि दोस्रो हाफको १५औं मिनेटमा दार्जिलिङका निवास रानाले पुनः गोल गरी आफ्नो टिमलाई ३-१ को अग्रता दिलाए ।
खेलमा २ गोलले पछि परेको अवस्थामा सोल्टी युनाइटेडका नरेश राईले दोस्रो हाफको १५आं मिनेटमा गोल गर्दै अन्तर कम गरेका थिए । सोल्टी युनाइटेडले दोस्रो हाफमा केही प्रयास गरे पनि गोलमा परिणत गर्न नसक्दा विदेशी टिम दार्जिलिङले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । आइतबारको खेलका म्यान अफ द म्याच दार्जिलिङबाट दुई गोल गरेका जर्सी नम्बर १७ का निवास राना घोषित भए । सोमबार गोरखा ब्वाइज स्र्पोटिङ क्लब रूपन्देही र सम्राट स्र्पोटिङ क्लब मोरङबीच प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया