किरियापुत्रीबाट तोडफोड

नेपालगन्ज, १२ चैत । नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति लक्ष्मीनारायण न्यौपानेका छोरा शशि र भूपेन्द्रले नेपाल वायुसेवा निगमको नेपालगन्ज टिकट काउन्टरमा तोडफोड गरेका छन् ।
बाबुको मृत्युपछि काजकिरिया गर्न डोल्पा जान टिकट नदिएको आक्रोशमा उनीहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट काउन्टरमा क्षति पुगेको छ भने सिसाको टुक्राले लागेर सेल्सका कर्मचारी हरि महतोको हातमा चोट लागेको छ ।
‘पार्टीले भन्दा पनि टिकट नदिने भन्दै उनीहरूले तोडफोड सुरु गरे,’ महतोले भने, ‘पार्टीको सिफारिस बोकेर आउनेबाट धम्की सहदै आएका थियौ, यसपटक मारपिटमै उत्रिए ।’
७ चैतमा बाबुको मृत्यु भएपछि उनीहरू किरिया बस्न डोल्पाको घर जान लागेका
थिए । कांग्रेस बाकेका सभापति अरुण कोइरालाले न्यौपाने दाजुभाइलाई डोल्पा जान दुईवटा टिकट माग गरेका थिए । तर, एकैपटक दुईवटा टिकट दिन नमिल्ने भनेपछि उनीहरू तोडफोडमा उत्रिएका हुन् ।
तोडफोडमा संलग्न न्यौपाने दाजुभाइले टेलिफोन सम्पर्कमा कर्मचारीले मानवीय संवेदना नबुझेको आरोप लगाए । तोडफोडपछि उनीहरू फरार छन् । आइतबार टिकट काउन्टरको कामसमेत ठप्प भएको छ ।
निगमका क्षेत्रीय प्रबन्धक रामबहादुर बमले राजनीतिक दलको अनावश्यक सिफारिसका कारण झगडा भइरहने बताए । ‘जसरी पनि टिकट हुनै पर्‍यो भन्छन् । नत्र जे पनि गर्छु भन्दै धम्की दिन्छन्,’ बमले भने, ‘जसलाई आवश्यकता छ उसलाई कसैको सिफारिस नभए पनि टिकट दिएकै छौ“ ।’
नेपाल वायुसेवा निगमले डोल्पा उडानका लागि आइतबार, बुधबार, बिहीबार र शुक्रबार टिकट वितरण गर्ने गरेको छ । एउटा उडानमा १० वटा सिट सर्वसाधारणका लागि, दुईवटा निगमका कर्मचारीका लागि र अपाङ्ग, असहायका लागि दिने गरी दुईवटा सिट जिल्ला प्रशासन कार्यालयलाई छुट्याइन्छ । तर, राजनीतिक दलले समेत अनावश्यक सिफारिस गर्दा अपाङ्ग, असहायको टिकट दलका कार्यकर्तालाई दिनुपर्ने बाध्यता रहेको प्रबन्धक बमले बताए ।

प्रतिक्रिया