माओवादी पार्टी कार्यालय प्रवेशमा रोक

सुर्खेत, १२ चैत । भेरी–कर्णाली राज्य समिति र जिल्ला पार्टी कार्यालय सुर्खेतमा कब्जा लिएका बहिर्गमित अर्थात अयोग्य लडाकुहरुले नेताहरुलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

पार्टीले आफूहरुलाई बेवास्ता गरेको भन्दै बिहीबार कार्यालय कब्जामा लिएका उनीहरुले आजपनि नेताहरुलाई कार्यालय प्रवेश गर्न दिएका छैनन् ।

कार्यालय कब्जामा लिदा जिल्लास्थित कुनै नेता सम्पर्कमा नआएको उनीहरुले बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले आफ्नो गास, बास र कपासका लागि अन्तिम संघर्षमा उत्रिएको बताए । समस्या समाधान नभएसम्म नेतालाई पार्टी कार्यालय प्रवेश गर्न पूर्व लडाकुहरुको भनाई छ ।

बिहीबार एउटा कार र २ वटा मोटरसाइकल नियन्त्रणमा लिएका उनीहरुले शुक्रबारपनि मोटरसाईकल नियन्त्रणमा लिएका छन् । भे २ प ९०२८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

उनीहरुले आज पनि जिल्ला पार्टी नेतृत्व तथा छैटौ डिभिजन क्याम्पले कुनै प्रतिक्रिया नदिएमा केही दिनमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिए ।

यसैबीच एमाओवादी सुर्खेतका सेक्रेटरी भीमबहादुर मल्लले समस्या जिल्ला पार्टीको नभएर राज्य र केन्द्रको दाबी गरेका छन् । उनले पूर्व लडाकुका बारेमा आफूहरुलाई कुनै चासो नभएको बताए ।

प्रतिक्रिया