खेलकुदको पेश्की फछ्र्यौट ८ दिनमा गर्न निर्देशन

काठमाडौं, १२ चैत । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले हालै सम्पन्न छैँटौ राष्ट्रिय खेलकूद प्रतियोगिताको सम्पूर्ण खर्चको फाँटवारीसहितको पेश्की फछ्र्यौट आठ दिनभित्र गर्न निर्देशन दिएको छ ।

समितिको आज सिंहरवारमा बसेको बैठकले प्रतियोगितामा भएको सम्पूर्ण खर्चको फाँटवारीसहितको पेश्की फछ्र्यौट चैत २० गतेभित्र गरी सोको जानकारी समितिलाई दिन निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिए ।

समिति सभापति यादवले सबै प्रतिवेदन प्राप्त भइसकेपछि प्रतियोगिताका लागि बनाएको भौतिक संरचनाको स्थलगत अध्ययनका लागि उपसमिति गठन गरिने र सोही उपसमितिमार्फत आवश्यक छानविनको प्रक्रिया अगाडि बढाइने बताए ।

लेखाले राष्ट्रिय खेलकूद प्रतियोगितामा भएको सम्पूर्ण समिक्षात्मक खर्चको प्रतिवेदन चैत २५ गतेभित्र बुझाउन युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्लाई निर्देशनसमेत दिएको छ ।

समितिका सदस्यहरु रबिन्द्र अधिकारी, नारायण दाहाल, उषा गुरुङ, सर्वदेव ओझा, कमला पन्त, कमला पराजुलीलगायतले खेलकूद प्रतियेगितामा भएको सम्पूर्ण खर्चलाई पारदर्शी बनाइनुपर्ने, प्रतियोगितामा अनियमिताप्रति छानविन गर्नुपर्ने र त्यसको सबै प्रक्रिया पारदर्शी ढङ्गबाट सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव सुशील घिमिरेले प्रतियोगिता सम्पन्न गर्नका लागि कूल २७ करोड ७१ लाख निकासा भएको र त्यसको लेखा परिक्षण हुन बाँकी रहेको जानकारी गराए ।

खेलकूद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगितामा अनियमितता भएको भनी वाहिर आएका विषयहरु तथ्यहीन भएको दाबी गरे ।

प्रतिक्रिया