होटल व्यवसायीले दल गुहारे

बाग्लुङ, ११ चैत । होटलमा यौनजन्य कारोबार भएको बहानामा प्रहरीले छापा मार्न थालेपछि बाग्लुङका होटल व्यवसायीले राजनीतिक दल गुहारेका छन् ।
प्रहरीले अनावश्यक तनाब दिएपछि व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएको र व्यवसाय बन्द हुने स्थितिमा पुगेको उनीहरूले बताएका छन् ।
राति १० बजे प्रहरीले होटलमा बसेका युवक, युवतीसग छुट्टाछछुट्टै केरकार गरेकाले व्यवसायमा समस्या परेको बताए । होटल न्यु एराकी सविता कडेलले भनिन्, ‘मध्यराति प्रहरीले केरकार गर्दै यौनधन्दामा आएको भनेर विवाहितलाई पनि समातेर लैजाने गरेपछि बास बस्न आउनेको सङ्ख्या घटेको छ ।’
होटलमा राति सादा पोसाकमा आउने प्रहरीले आतङ्क नै मच्चाएको होटल व्यवसायी सङ्घले जनाएको छ । सङ्घले प्रहरीको ज्यादती बन्द गराउन राजनीतिक दललाई आग्रह गर्दै बाग्लुङमा अन्तक्र्रिया नै गरेको छ । ‘प्रहरीले अभियानका नाममा अनावश्यक दुःख दिइरहेको छ,’ सङ्घका अध्यक्ष अर्जुन चोखालले भने, ‘हरेक राता छापा मारेर पाहुनालाई त्रसित बनाउछ र होटल व्यवसाय इज्जतको पेसा होइन भन्ने नागरिक समाजमा देखाइरहेको छ ’।
पुरुष र महिला देख्नेबित्तिकै प्रहरीले पक्राउ गर्दा ४० प्रतिशत कारोबार घटेको सङ्घले जनाएको छ ।
‘होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक छ,’ नेपाली कांग्रेस बाग्लुङका सभापति प्रकाश पौडेलले भने, ‘विकृति रोक्ने नाममा प्रहरी स्वयम्ले विकृति सिर्जना गरेर स्वेच्छाचारिता प्रदर्शन चै गर्नुहुदैन ।’ ‘महिलालाई होटलमा राखेर यौनजन्य व्यवसाय गर्न पाइदैन’, अधिवक्ता राजु गौतमले भने, ‘ स्वेच्छाले आएका महिला र पुरुष दुवैलाई पक्राउ गर्न र मुद्दा चलाउन पाइदैन ।’
होटल व्यवसायीले राजनीतिक दल गुहारेपछि प्रहरीले भने कानुनले निषेध गरेका काम गर्न कसैलाई छुट नदिने जिकिर गरेको छ । छापा मार्न गएका प्रहरीलाई रोकेर कोठामा जुवा खेलिरहेका र अवैध क्रियाकलापमा संलग्नलाई भगाउनेसमेत काम भएको बताउदै डिएसपी कृष्ण सिवाकोटीले भने, ‘कानुनको परिधिभित्रै रहेर प्रहरी परिचालन भएका छन् ।’ बाग्लुङमा एक सय ७० वटा होटल सञ्चालनमा छ ।

प्रतिक्रिया