सिंहदरबार पोखरा सार्ने उद्घोष

पोखरा, ११ चैत । सद्भावना पार्टीले पोखरामा पहाडी समुदायलाई तान्न आकर्षक प्याकेज प्रस्तुत गरेको छ । छुट्टै तराईको माग गरेर देश फुटाउने कुरा पो आउछ कि भनेर शङ्का गरिरहेकालाई अध्यक्ष राजेन्द्र महतोले ताली बजाउन बाध्य पारे ।
‘पहिला धोतीवालाका मात्रै थियौ, अब टोपीवालाका पनि भयौ,’ महतोले भने, ‘पोखरामा हामी सिंहदरबार बनाउन लागिरहेका छौ ।’ उनको भाषण मधेसी लवजमा भए पनि पोखरेलीले ताली बजाए । पार्टीका शीर्ष नेताहरूले जय मातृभूमि भन्दै देश टुक्र्याउने नभई जोड्नका लागि सङ्घीयतासहितको संविधान बनाउने उद्घोष गरेपछि पोखरेलीको शङ्का पनि हरायो ।
कास्कीमा पार्टीको जिल्ला कार्यालय स्थापनासगै आमसभाको आयोजना भएको थियो । नेताहरूले सम्बोधनमा मधेस टुक्र्याउन नलागेको स्पष्टीकरण दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेका अध्यक्ष महतोले भने, ‘मधेसी, पहाडी र तराईका मिलेर देश बनाउनुपर्छ । फुट्ने होइन ।’
उनीहरूले पोखरेलीको भावना जितिरहदा देशमा वैकल्पिक लोकतान्त्रिक पार्टीका रुपमा सद्भावना पार्टी स्थापित हुदै गएको पनि भन्न भ्याए । ७५ जिल्लामै आपूmहरू स्थापित हुने भन्दै महतोले सबै नेपालीको साथ मिल्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले देशलाई जोगाउन हिमाल, पहाड र तराईमा बस्नेबीच एकता आवश्यक रहेको बताए । उनले भने, ‘बिखण्डनका कुरा गर्नेलाई नेपालमा राजनीति गर्ने अधिकारसमेत छैन ।’
जिल्ला अध्यक्ष जुलदिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मनीषकुमार सुमन, शिक्षा विभाग प्रमुख नरेन्द्र वाग्ले, तदर्थ समितिका अध्यक्ष इसाद अहमदले देश बचाउने कुरामा जोड दिए । सभाअगाडि पोखरामा र्‍याली  गरिएको थियो । सभामा सबै नेपालीलाई जोड्ने सद्भाव झल्कने सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

प्रतिक्रिया