देउवा पक्षले नामावली फिर्ता माग्यो

काठमाडौः नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले नेपाल तरुण दल, नेपाल महिला सङ्घसहित अन्य भ्रातृसङ्गठनको केन्द्रीय समिति विस्तारका लागि दिएको नाम फिर्ता मागेको छ ।
पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देउवाका तर्फबाट शनिबार सभापति सुशील कोइरालालाई भेटी ती नाम फिर्ता मागेका हुन् । महाराजगन्जस्थित कोइरालानिवास पुगेर श्रेष्ठले नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय समिति विघटन गर्न माग गरे । सहमतिविपरीत सङ्घको केन्द्रीय समिति गठन गरेको आरोप लगाउदै उनले निर्णय सच्याउन आग्रहसमेत गरे । उनले सहमति र सङ्घको विधानअनुसार समिति गठन गर्नुपर्ने स्पष्ट पारेका थिए ।
स्रोतका अनुसार सभापति कोइरालाले भने उक्त प्रस्ताव अस्वीकार गर्दै सङ्घको केन्द्रीय समिति विघटन नहुने अडान राखे । कोइरालाले सङ्घको केन्द्रीय समितिमा हेरफेर गरेर अघि बढ्न सकिने र अन्य भ्रातृसङ्गठनका केन्द्रीय समिति पनि चा“डै गठन गर्ने बताएका थिए ।
श्रेष्ठले सङ्घको केन्द्रीय समिति विघटन गर्नुपर्ने अडानमा देउवा पक्षका सबै नेता सहमत रहेको जानकारी गराएका थिए । स्रोतका अनुसार देउवा पक्षबाट महिला सङ्घ, तरुण दल, आदिवासी जनजाति सङ्घ, मगर सङ्घका अध्यक्षले केन्द्रीय समितिमा सहभागी गराउन दिइएको नाम श्रेष्ठले फिर्ता दिन आग्रह गरेका थिए ।
यसअघि बुधबार देउवा पक्षका केन्द्रीय सदस्यको भेलाले कोइरालाले सहमति पालना नगरेको निष्कर्ष निकाल्दै सङ्घको निर्णय नसच्चिए अन्य भ्रातृसङ्गठनका लागि दिएको नाम फिर्ता माग्ने निर्णय गरेको थियो । त्यही भेलाको निर्णयअनुसार देउवा पक्षबाट सङ्घको केन्द्रीय समितिमा मनोनीत २८ जनाले शुक्रबार सभापतिलाई सामूहिक राजीनामा बुझाएका थिए । (सौस)

प्रतिक्रिया