नेपाली कामदारलाई पाँच वर्ष काम


काठमाडैा, ९ चैत । रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीमा जाने नेपाली कामदारले करिब पाँच वर्षसम्म काम गर्न पाउने भएका छन् । नेपाल र दक्षिण कोरियाबीच केही समयपछि हुन लागेको श्रम सम्झौतामा नेपालले राखेको प्रस्तावप्रति कोरिया सरकार सकारात्मक देखिएकाले त्यहाँ जाने कामदारले सो अवसर पाउने भएका हुन् । सरकारले इपिएस अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारले चार वर्ष १० महिना अवधि काम गर्ने पाउने कानुनी व्यवस्था समझदारीपत्रमा राखेको छ । प्रस्तावप्रति कोरिया सरकार सकारात्मक देखिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
नेपाल र दक्षिण कोरियाबीच केही महिनामै श्रम सम्झौता हुँदै छ । दुई/दुई वर्षमा हुने श्रमसम्बन्धी समझदारीपत्रको मस्यौदा अहिले सरकारले त्यहाँ पठाएको जनाएको छ । नेपालले पठाएको प्रस्ताव अध्ययनपछि केही महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । यसका लागि कोरिया सरकारका प्रतिनिधि नेपालमै आउने तयारी भैरहको मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताए । नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक र सुरक्षित रोजगार मुलुक भएकाले कामदारको करार अवधि बढाइएर चार वर्ष १० महिना पुर्‍याउने तयारी भैरहेकोे खड्काले बताए । उनका अनुसार कोरिया जाने कामदारको करार अवधि सुरुमा तीन वर्षको हुनेछ भने सो अवधि सकिएपछि एक वर्ष १० महिना करार थपिने छ ।
अन्य मुलुकवाट गएका कामदारभन्दा नेपालीसंँग रोजगारदाता सन्तुष्ट रहेकाले पनि करार अवधि थप हुन लागेको खड्को भनाइ छ । ‘नेपाली कामदारसँग रोजगारदाता सन्तुष्ट छन्’ उनले भने, ‘यस वर्षदेखि कामदारको सीप परीक्षण गर्न पाउने र चार वर्ष १० महिना करार अवधि राख्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।’ यसअघिको सम्झौतामा त्यहाँ जाने कामदारको करार अवधि तीन वर्षमात्र हुने गरेको थियो । कोरियाले इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा लिई त्यसमा उत्तीर्णलाई रोजगारीमा लैजाने गर्छ । सन् २००७ मा पहिलो पटक नेपाल र दक्षिण कोरियाबीच इपिएस अन्तर्गत कामदार लैजान सम्झौता भएको थियो । सो सम्झौतापछि हालसम्म तीन पटक कोरिया भाषा परीक्षा भैसकेको छ । सन् २००८, २०१० र २०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये हालसम्म १० हजारभन्दा बढी नेपाली कामदार रोजगारीमा दक्षिण कोरिया गइसकेका छन् ।
कोरियाले इपिएस अन्तर्गत नेपाल सहित १५ मुलुकबाट कामदार लिने गरेको छ । तर, अन्य मुलुकभन्दा नेपाली कामदार इमानदार रहेकाले प्रतिवर्ष कामदार कोटा समेत बढाइँदै लगेको इपिएसले जनाएको छ । यस वर्षमात्र इपिएस अन्तर्गत १५ हजार कामदारलाई कोरियाले रोजगारीका लागि रोस्टरमा राखेको छ ।

प्रतिक्रिया