मैत्रीपूर्ण म्याचबाट भोजपुर गोल्डकप

भोजपुर, ९ चैत । पूर्वी पहाडी जिल्लाकै ठूलो धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि भोजपुर सदरमुकामस्थित टुँडिखेलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन संविधानसभाका सदस्य कुमार राईले भोजपुर गोल्डकपको ट्रफी अनावरण गरेर गरेका थिए ।
उद्घाटनको दिन भोजपुरबजारस्थित टुँडिखेलमा कर्मचारी मिलन केन्द्र र भोजपुर जिल्ला फुटबल सङ्घबीच मैत्रीपूर्ण फुटबल भएको छ । सो खेलमा कर्मचारी मिलन केन्द्रले फुटबल सङ्घलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ । गोल्डकप उद्घाटनका क्रममा जिल्लास्थित आदिवासी जनजातिले विभिन्न झाँकी प्रदर्शन गरेका थिए ।
आठ टिम सहभागी प्रतियोगिताको पहिलो खेल शुक्रबार धनकुटा फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरी, सुनसरीबीच हुनेछ । प्रतियोगितामा सहभागी टिम आउने क्रम सुरु भइसकेको छ । जिल्ल्ाा फुटबल सङ्घका अनुसार हालसम्म सशस्त्र प्रहरी झापा, धनकुटा फुटबल क्लब र राष्ट्रिय जागृति युवा क्लब भोजपुर आइपुगेका छन् । १७ लाख रुपियाँको लागतमा सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपका विजेतालाई डेढ लाख र उपविजेतालाई एक लाख रुपियाँ नगद प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष विद्याभूषण श्रेष्ठले बताए ।
गोल्डकपमा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल टिम, राष्ट्रिय जागृति क्लब सुनसरी, धनकुटा फुटबल क्लब धनकुटा, एपिएफ झापा, एन्फा एकेडेमी काठमाडौं, गोरखा ब्वाइज स्पोर्ट रूपन्देही, सम्राट स्पोर्टिङ क्लब विराटनगर र सह-आयोजक द सोल्टी युनाइटेड भोजपुरले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया