वैतडीको जलविद्युत सञ्चालन

बैतडी, ९ चैत । दुवै टर्वाइन बिग्रेर बन्द रहेको वैतडीको सुरनैया गाडा साना जलविद्युत आयोजना बिहीबारदेखि सञ्चालनमा आएको छ ।

आयोजनाको एभिआर मर्मत गरेपछि आयोजना सञ्चालनमा आएको आयोजनाका प्रमुख तेजसिंह मौनीले जानकारी दिए । उनका अनुसार, काठमाडौ लगेर एभिआर मर्मत गरेपछि एउटा टर्वाइनबाट विद्युत उत्पादन सुरु भएको छ ।

२०४१ सालदेखि सञ्चालनमा आएको उक्त विद्युत उत्पादन गत फागुन ८ गतेदेखि बन्द थियो । विद्युत बन्द हुदा वैतडीको पाटन, भुमेश्वरी, गुजर, वासुलिंक, भोनेरी, सिलंगा, रौलेश्वर, सिद्धेश्वर, सिद्धिपुर, बसन्तपुर लगायतका गाविसका करिब २ हजार घरधुरीमा विद्युतको समस्या परेको थियो ।

विद्युतको समस्या भएपछि वैतडीका बासिन्दाले आयोजनाको विद्युत गृहमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । बुधबार मात्र मर्मत गरेर आयोजना सञ्चालन ल्याउने बताएपछि ताला खुलेको थियो ।

बिहीबार वैतडीको पाटन आएका उर्जा राज्यमन्त्री सूर्यमान दोङले विद्युत गृहको निरीक्षण गरेका थिए । उनलाई स्थानीयबासीले पाटनमा आयोजित कार्यक्रममा आयोजना निर्माणका लागि र पाटन क्षेत्रमा सवस्टेशन राख्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

राज्यमन्त्री दोङले आयोजना व्यवस्थित रुपमा सञ्चालन गर्न र सव स्टेशन राख्नका लागि सहयोग गर्ने बताएका थिए ।

विद्युतको समस्या भोगेपछि राजनीतिक दलका नेताहरु विद्युत समस्या लिएर सिंहदरबारनै पुगेका थिए । आयोजना २२० किलोवाट क्षमताको भएपनि अहिले करिब एक सय किलोवाट मात्र विद्युत उत्पादन भएको छ ।

प्रतिक्रिया