ब्लु फिल्मले हङ्गामा

अहमदाबाद, गुजरातको संसद् भवनभित्रै भारतीय जनता पार्टी  (भाजपा) का दुई सांसदले ब्लु फिल्म हेरेको भन्दै काङ्ग्रेस आईका सांसदले संसद् भवनमा हङ्गामा मच्चाएका छन् । भाजपाका सांसदद्वय शङ्कर चौधरी र जिथा भारवदले मङ्गलबार संसद्को कारबाही जारी रहेकै बेला ब्लु फिल्म हेरेर संसदीय मर्यादाको खिल्ली उडाएको भन्दै काङ्ग्रेस आईका नेताले बुधबार यसप्रति कडा आपत्ति जनाएका हुन् । काङ्ग्रेसका सांसदले चर्को स्वरमा नाराबाजी गर्दै संसद् कारबाही अवरुद्ध गर्न खोजेपछि उनीहरूलाई निलम्बन गरिएको थियो ।
तर, भाजपाका सांसदद्वयले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन् । उनीहरूले संसद् भवनभित्र मोबाइल कम्प्युटरमा केही हेरिरहेको भिडियो क्लिप्स एक सञ्चारकर्मीले खिचेका थिए । तर, उनीहरू के हेरिरहेका थिए भन्ने भिडियो क्लिप्समा प्रस्ट छैन । ‘हामीमाथि लगाइएको आरोप आधारहीन छ । म अक्सर संसद् भवनमा बसेर चिठी लेख्ने र अन्य दस्तावेज तयार गर्ने गर्छु । भिडियो खिचिएको बेला म त्यस्तै केही काम गर्दै थिए“,’ चौधरीलाई उद्धृत गर्र्दै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । काङ्ग्रेस नेताले हङ्गामा मच्चाएपछि सभामुखले आवश्यक छानबिन गरी घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया