दाहालको प्रस्ताव वैद्यद्वारा अस्वीकार

काठमाडौं, आन्तरिक विवादमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने माओवादी अध्यक्ष्ँ पुष्पकमल दाहालको प्रस्तावलाई उपाध्यक्ष मोहन वैद्यले ठाडै अस्वीकार गरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म बैठक बोलाउनुको कुनै अर्थ नहुने वैद्यको जिकिर छ ।
अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा दुई नेताबीच भएको छलफलमा आन्तरिक विवाद मिलाउनेबारे छलफल भएको थियो । केन्द्रीय समितिमै छलफल गरेर ‘सहमतिमा पुग्न सकिन्छ’ भन्ने दाहालको प्रस्ताव वैद्यले अस्वीकार गरेका हुन् ।
स्रोतका अनुसार वैद्यले पटक–पटक निर्णय गर्दै जाने तर कार्यान्वयनमा चासो नदेखाउने भन्दै अध्यक्ष दाहालको आलोचना गरेका थिए । निर्णयमात्रै हुने कार्यान्वयन नहुने भन्दै उनले आपत्ति जनाए । राष्ट्रिय सहमतिको सरकार गठनका लागि यसअघि केन्द्रीय समितिले गरेको निर्णयअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै बैठक बस्न सकिने जवाफ वैद्यले दिएको स्रोतले जनाएको छ ।
दाहालस“गको छलफलपछि वैद्यले पुराना निर्णय कार्यान्वयन नभएसम्म बैठक बस्नुको औचित्य नहुने बताए । ‘विगतमा भएका निर्णय कार्यान्वयन पनि नगर्ने, त्यसमा चासो नदेखाउने अनि केन्द्रीय समिति बस्नुको के औचित्य हुन्छ र ?,’ उनले भने । वैद्य समूहले सरकार र नेतृत्वविरुद्ध सङ्घर्षको घोषणा गरिसकेको छ । वैद्य समूहको घोषणापछि दाहाल र भट्टराई समूहका केन्द्रीय सदस्यको सोमबार र मङ्गलबार भएको भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने निर्णय गरेको थियो । (सौस)

प्रतिक्रिया