परीक्षा दिदै गर्दा २ बच्चा जन्मिए


दाङ, ७ चैत । रुकुममा दुई जना विद्यार्थीले एसएलसी परीक्षा दिने क्रममा सुत्केरी ब्यथा लागेपछि परीक्षा केन्द्रमै बच्चा जन्माएका छन् ।

रुकुमको पूर्वी गाविसको तकसेरामा रहेको एक केन्द्रवाट परीक्षा दिदै गर्दा रेसा घर्तीले बच्चा जन्माएकी हुन् । प्रश्नपत्र बाढ्ने वित्तिकै सुरु भएको सुत्केरी वेथाको केही सयम भित्रै घर्तीको छोरा जन्माएको थियो । बच्चा जन्मेको आधा घण्टा पछि स्वास्थ्य सामान्य भएपछि घर्तीले पुनः परीक्षा दिएकी थिइन् । घर्तीलाई परीक्षाका लागि अरुको भन्दा एक घण्टा बढी समय दिइएको थियो ।

त्यस्तै रुकुमकै प्वाङ गाविसमा रहेको केन्द्रमा एक परीक्षार्थी पनि केन्द्रमै सुत्केरी भएकी छन् । प्वाङ केन्द्रबाट परीक्षामा सहभागी कविता बिकले छोरी जन्माएकी हुन् । कविताको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको परीक्षा सहयोगीले दिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै रुकुममा एसएलसीको पहिलो दिन नुवाकोट परीक्षा केन्द्रबाट एक शिक्षक सहित तीन विद्यार्थी निस्काशित भएका छन् । परीक्षामा मर्यादा वितरित काम गरेको भन्दै उनीहरुलाई निस्काशित गरिएको थियो ।

यता दाङमा भने पहिलो दिनको एसएलसी परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयका प्रमुख जितवहादुर शाहले जानकारी दिए ।

उता, प्रश्नपत्र आउट गराएर फोटोकपी गरि चिट सप्लाई गर्ने तयारी गरिरहेका बेला आज मोरङको वनिगामा दुई जना फोटो कपी मेसिन सहित पक्राउ परेका छन् ।
परिक्षा केन्द्र रहेको स्थानीय पशुपति सेकेन्डरी बोर्डिङ स्कुल नजिकै वन्द रहेको कला फोटो स्टुडियोभित्र फोटोकपी मेसिन राखेर उत्तर पुस्तिका फोटोकपी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरैचाका सई अनुप निरौलाले वताए । पक्राउ पर्नेमा सिशवहनी वडहराका नरेश विश्वास र वनिगामाका रविन चौधरी रहेका छन् ।

विगतको तुलनमा यस पटक विराटनगरमा परीक्षा शान्तिपूर्ण सम्पन्न भएको छ । परीक्षा केन्द्र आसपासको अवस्था सामान्य पाइएको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिए ।

उता, सुनसरीको इनरुवाबाट एक जना नक्कली निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  इनरुवास्थित बाल मन्दिर परीक्षा केन्द्रबाट स्थानीय निजी बिद्यालयका प्रिन्सिपल तेजनारायण साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साह नक्कली परिचय पत्र बनाइ एसएलसी परीक्षाको केन्द्रमा प्रवेस गरेका थिए ।

सुनसरीमा एसएलसी परीक्षामा कडाइ गरिएको छ । परिक्षा केन्द्रको वरिपरी सर्वसाधारणलाइ जान रोक लगाइएको थियो ।

यता, प्रवेशिका परीक्षा २०६८ को पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा धनुषा जिल्लामा पनि शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ ।

प्रवेशिका परीक्षाका लागि धनुषामा ३० ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । कुल ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको धनुषामा एसएलसी परीक्षा संचालनका लागि ४९ वटा सहायक केन्द्राध्यक्ष र अन्य केही सहयोगी कर्मचारी खटाइएको थियो ।

यसैबीच धनुषाका विभिन्न केन्द्रबाट अमर्यादित कार्य गरेको आरोपमा १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । जसमध्ये तीन जना गार्डलाई समेत नियन्त्रणमा लिइएको छ । दुई जनालाई निष्काशन गरिएको छ । सबैलाबाट ७ जना र यदुकुहाबाट ९ जना गरि जम्मा १६ जना चिट चोरी गराउनेलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

यता महोत्तरी जिल्लामा पनि परीक्षा शान्तिपूर्ण सम्पन्न भएको छ । मर्यादित, अनुशासित र व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्नका लागि परीक्षा समन्वय समितिले दिएको निर्देशन बमोजिम जिल्लाका २२ वटै परीक्षा केन्द्रमा शान्तिपूर्णरुपले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया