‘सरुवाले व्यवसायी बनायो’

सोमलाल बाटाजु
अध्यक्ष,  वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा प्रशासनिक निर्देशक, एसओएस म्यानपावर

मिहिनेत र परिश्रम गरे सफलता ठूलो कुरा होइन भन्ने उदाहरणका पात्र हुन् सोमलाल बाटाजु । जीवनमा आइपर्ने अप्ठ्यारालाई सहजै स्वीकार गर्ने व्यक्तिले लक्ष्यप्राप्ति गर्न सक्छ भन्ने तथ्य उनको जीवनमा चरितार्थ भएको छ । २०१६ सालमा पोखरामा जन्मिएका बाटाजु आफूलाई सधैँ सङ्घर्षमा रमाउने व्यक्तिका रूपमा  चिनाउँछन् । एक सफल वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित उनी सङ्घर्षले नै आफू यो अवस्थामा आइपुगेको सम्झन्छन् ।
करिब १५ वर्षअघि उनले वैदेशिक रोजगार व्यवसायमा हात हालेका हुन् । सङ्घर्षमै सफलता देख्ने उनी सरकारी जागिर छाडेर यो पेसामा लागेका हुन् । १५ वर्ष जागिरे जीवन बिताएका उनी आफ्नै मिहिनेतको फल मीठो हुने सम्झेर यो पेसामा लागेका रहेछन् । त्यसो त उनको यो पेसामा लाग्नुको कथा छुट्टै छ ।
वन मन्त्रालयअन्तर्गत सरकारी जागिरे रहेका उनी २०५२, ०५३ मा बाग्लुङबाट डढेलधुरा सरुवा भए । सरकारी जागिर खाएपछि सरुवा÷बढुवा सामान्य कुरा भए पनि बाटाजु त्यसमा सहमत भएनन् । लामो समयदेखि बाग्लुङमा बसेका बाटाजुले त्यहाँ गएर जागिर खानुभन्दा नखानु बेस ठाने । वनविज्ञानमा स्नातक गरेका उनी अर्काको जागिरभन्दा आफ्नो सीप ठूलो ठानेर राजधानी हँुइकिन पुगे । सानैदेखि कडा परिश्रम गर्ने बानी भएका उनले आफ्नै लगानीमा केही गर्ने सोचमा राजधानीलाई गन्तव्य बनाए । त्यसपछिको पेसा बन्न पुग्यो यो वैदेशिक रोजगारको क्षेत्र ।
१५ वर्षसम्म सरकारी जागिरमा समय बिताए पनि अहिले उनलाई जागिर छाडेकामा पछुतो रहेनछ । मुलुकभित्र रोजगारीको अवसर नपाएर भाँैतारिएका हजाराँै युवालाई वैदेशिक रोजगारीको अवसर दिलाउन सफल बाटाजु श्रम र सामूहिक भावनाले यो अवस्थामा आइपुगेको बताउँछन् ।
राजधानी प्रवेशसँगै ०५४ सालमा एसओएस म्यानपावर सर्भिसेजमा आबद्ध भए । हाल सो सर्भिसेजका प्रशासनिक निर्देशक रहेका बाटाजुले सोही संस्थामार्फत हालसम्म ७० हजारभन्दा बढी युवालाई रोजगारीको अवसर दिलाएको बताउँछन् । सुरुका दिनमा नयाँ व्यवसाय गर्दा केही असहज भए पनि आफ्नो लगनशीलताका कारण असफल भने नभएको उनको भोगाइ छ । त्यसो त सरकारी सेवामा बस्दाभन्दा निकै तनाब बेहोर्नु परेको उनी बताउँछन्, तर पनि ‘टिमवर्क’ले गाह्रो महसुस नभएको जनाउँछन् उनी ।
सामूहिक नेतृत्व लिनसक्ने तथा प्रस्टवक्ताका रूपमा चिनिएका बाटाजु वैदेशिक रोजगार व्यवसायीको छाता संङ्ठन वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षसमेत छन् अहिले । ०६४ मा सङ्घको प्रथम उपाध्यक्ष हँुदै दुई वर्षदेखि मुलुकभरका वैदेशिक रोजगार व्यवसायीका नेता रहेका उनी पेसागत हकहित र संस्थागत विकासमा आफूलाई समर्पित गरेको बताउँछन् ।
अहिले वैदेशिक रोजगारीमा थुप्रै प्रकारका कमीकमजोरी देखिएकाले त्यसलाई व्यवस्थित गर्न जरुरी भएको उनको बुझाइ छ । ३० लाख युवालाई रोजगारी दिलाउन सक्षम यो व्यवसायलाई समयअनुसार व्यवस्थित गर्न सके मुलुकको आर्थिक अवस्था मजबुत हुने उनको तर्क छ । कृषिप्रधान भनेर चिनिएको नेपाल अहिले वैदेशिक रोजगारप्रधान भइसकेको भन्दै दुर्गम क्षेत्रसम्मका मानिसको जीवनस्तर सुधार गर्न आफ्नोसमेत योगदान रहेको बताउँछन् ।
प्रस्तुति, किरण ढकाल

प्रतिक्रिया