अज्ञात मानवजातिको अवशेष

बेइजिङ, ६ चैत । सन् १९८९ मा चीनको एउटा गुफामा पाइएको ढुङ्गेयुगका चारजना फरक प्रजातिका मानिसको अवशेषबाट रोचक कुरो पत्ता लागेको छ । उक्त प्रजातिका मानिसमा प्राचीन तथा आधुनिक दुवै मानिसको विशेषता पाइएको छ । यस्तो प्रजातिका मानिसको अस्तित्व पहिलोपटक पत्ता लागेको पुरातत्वविद्हरुको भनाइ छ । ‘रेड डियर पिपल’ नाम दिइएका ती मानिसका अवशेष  साढे १४ हजारदेखि साढे ११ हजार वर्ष पुराना हुन् । ती अवशेष चीनको युनान र ग्वाङ्सी झुआङ प्रान्तमा सन् १९८९ मा पाइएका थिए । सन् २००८ सम्म यसमाथि वैज्ञानिक र पुरातत्वविद्ले अध्ययन गरेका थिए ।
नर्थसाउथ वेल्सका प्रा कुर्नोइका अनुसार चीनमा कृषि संस्कृतिको आरम्भिक चरण सुरु हुँदा उक्त प्रजातिका र आधुनिकजस्ता देखिने दुवैथरिका मानिसको त्यहाँ बसोबास थियो । एक जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखमा प्रा कुर्नोइले भनेका छन्, ‘चीनमा पाइएका नयाँ अवशेष यसअघि पत्ता नलागेका मानवजातिजस्ता छन् । उक्त प्रजातिका मानिस बरफयुगको अन्त्य अर्थात् करिब ११ हजार वर्षअघिसम्म जिवित थिए ।’  फेला परेको अवशेषले मानव उद्विकासको अध्ययनमा नयाँ अध्याय थपिदिएको उनको ठहर छ । ‘मानव उद्विकासको अध्ययनमा यसले ‘एसिया च्याप्टर’ थपिदिएको छ,’ उनले भने । यद्यपि, उक्त प्रजातिका मानिस अफ्रिकाबाट बसाइ सरेर आएको हुनसक्ने सम्भावना समेत रहेको उनले उल्लेख गरे । (डेलिमेल)

प्रतिक्रिया