गर्भवतीलाई डायरी

पेटमा बच्चा हुर्कंदै गर्दा नारीको मनमा सँगसँगै हुर्कने अनुभूति कस्ता होलान् ? यो अवधिका अनुभूति पक्कै विशेष हुन्छन् । थोरै डर, थोरै पीडा, अनि थोरै लाजका बीच आफ्नै शरीरभित्रको सुन्दर शिशु बिस्तारै आफ्नो काखमा हुर्कंदै ठूलो भएको कल्पना मात्रैले पनि रोमाञ्चित बनाउँदो हो उनीहरूलाई । मनोवैज्ञानिकहरूले भनेकै छन्– गर्भवती महिलाका मनमा तात्कालिक अवस्थामा विभिन्न भावना सलबलाइरहन्छन् । जन्मिन लागेको बच्चाको तस्बिर झलझली आँखा अगाडि आइरहन्छ रे ! बजारमा उपलब्ध हुने शिशुका आकर्षक तस्बिर कोठामा टाँसेर कल्पिइरहन्छन् । तर, बच्चा जन्मिएको केही समयमै सक्रिय व्यवहारमा प्रवेश गरेसँगै उनीहरूका यी अनुभूति बिस्तारै धूमिल हुँदै जान्छ ।
मुम्बईस्थित अञ्जली फाउन्डेसनले नारीहरूको गर्भावस्थाकालीन यी अनुभूतिको सुरक्षा गर्ने भएको छ । त्यसका लागि एउटा विशेष डायरी प्रकाशन गरेको छ । त्यसमा गर्भावस्थाका क्रममा नारीहरूमा सकारात्मक भावना अनि धारणा विकास गर्ने खालका  फोटोसहितको डिजाइन गरिएको दाबी फाउन्डेसनले गरेको छ । यसमा गर्भवतीले सो अवधिका अनुभूति अनि घटनाबारे उल्लेख गर्न सक्नेछन् । फाउन्डेसनका अनुसार लामो मनोवैज्ञानिक अनुसन्धानपछि यो डायरी बनाइएको हो  ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रकाशित डायरी भारतपछि पहिलोपटक नेपालमा ल्याइएको छ । नेपाल भित्र्याउने रङ्ग नेपालका अध्यक्ष निर्मल थापाका अनुसार यो सामान्य डायरीभन्दा फरक र आकर्षक छ । सुन्दर तस्बिर, सुन्दर वाणी अनि सकारात्मक ऊर्जा दिने कुरा छन् ।
मेमोरी डायरी समाजका दुई स्तम्भ डाक्टर र शिक्षकमा समर्पित गरिएको फाउन्डेसनले जनाएको छ । अञ्जली किचेनवेयर प्रालिका अध्यक्ष तथा अञ्जली फाउन्डेसनका संस्थापक आत्माराम पटेलले डाक्टरले जीवन दिने र शिक्षकले जीवन जिउन सिकाउने भएकाले यी दुई वर्गको सम्मानमा डायरी प्रकाशन गरिएको बताए । ‘डाक्टर र शिक्षक जन्माउने आमाका लागि यो डायरी बनाइएको हो’ –पटेलले भने । सामाजिक उत्तरदायित्वस्वरूप प्रकाशन गरिएकाले यसको शुल्क न्यून रहेको उनले सुनाए ।
मनोवैज्ञानिक डा अरुणा उप्रेतीको विचारमा गर्भवती महिलालाई आफ्नो अनुभूति खुलस्त रूपमा प्रस्तुत गर्न यस्तो डायरी लेखन उपयुक्त विकल्प हो । उनी आफूले चाहिँ १० वर्षको उमरेदेखि नै डायरी लेख्न थालेकी रहिछन् । ‘डायरी भनेको हरेक मान्छेको आफ्नो गीता हो, जहाँ उसको जीवन र जगत् हुन्छ’ –उनले भनिन् ।
मनोचिकित्सकका अनुसार डायरी लेख्ने बानीले स्मरणशक्ति बढ्छ । आमाको गर्भ जन्मभन्दा पहिलेको पाठशाला भएकाले यो अवस्थामा नारीको मानसिकता सकारात्मक हुनुपर्छ । डायरी लेखनले यस्तो वातावरण तयार गर्ने बताइन्छ । गर्भवती महिलाले गर्भाधानसँगै डायरी लेख्न सुरु गर्दा पेटको बच्चाप्रति स्नेह बढ्ने र भ्रूणहत्याजस्तो अपराध कम हुने निष्कर्ष अञ्जली फाउन्डेसनको छ । यो डायरी पतिले पत्नीलाई उपहारका रूपमा दिन सक्छन्, जुन भविष्यमा जन्मिने बच्चाका लागि पनि सङ्ग्रहणीय वस्तु हुन सक्छ ।

प्रतिक्रिया