माओवादी अन्तरद्वन्द्वको कारण के हो ?

हरिबोल गजुरेल, नेता, एमाओवादी

एनेकपा (माओवादी) मा वैचारिक तथा राजनीतिक कारणले गर्दा अहिले अन्तरद्वन्द्व देखापरेको हो । यसबाहेक सङ्गठनात्मक, कार्यशैली, कार्य विभाजनलगायत सबै विषय जोडिएर यसले अहिले जटिल रूप लिएको छ । पार्टीको अन्तरद्वन्द्व पार्टीमा मात्रै सीमित नरहेर यो समग्र शान्तिप्रक्रिया र संविधान निर्माणसँग पनि जोडिएको छ । त्यसैले यो विषय अहिले बहसको उचाइमा पुगेको छ । यसले आमजनता र कार्यकर्तासम्म एकातिर माओवादी पार्टी नै फुट्ने हो कि भन्ने आशङ्का पनि उब्जाएको छ । अब माओवादी पार्टीमा के हुने हो र अबका दिनमा कसरी अगाडि बढ्छ भन्ने विषयमा सबै अन्योल छन् । केन्द्रीय समिति बैठक सुरु भइनसक्दै किरण कमरेडहरूले सङ्घर्ष समिति गठन गरिसकेको सुनिएको छ । आजै एउटा कार्यक्रममा गएर सङ्घर्षका लागि मोर्चा निर्माण गरेको भन्ने आएको छ । एमोआवादीभित्र देखापरेका यी तमाम समस्या समाधान गर्नका लागि स्थायी समितिको बैठक पनि चलिरहेको छ । पार्टीमा देखिएका अन्तद्र्वन्द्वबारे केही साथीले आआफ्नो धारणा राखिसकेका छन् भने सम्भवतः बाँकी रहेका सबै सदस्यले भोलि आआफ्ना कुरा राखिसक्छन् ।
त्यस्तै २४ चैतको जनआन्दोलन दिवस, मई दिवस, वैशाखमा पर्ने दोस्रो जनआन्दोलन दिवसलगायत दिनमा हाम्रो पार्टीले देशव्यापी जनपरिचालन गर्दै विभिन्न छलफल, वैचारिक गोष्ठी र अन्तत्र्रिmया चलाउने निर्णय गरेको छ । यसमार्फत पार्टीभित्र देखिएको गुटउपगुटका सबै सञ्जाल भत्काउने र आन्तरिक शुद्धीकरण प्रारम्भ गर्ने भन्ने रहेको छ । त्यस्तै, किरणजीहरूसँग पनि छलफल चलाएर पार्टीलाई एकजुट बनाएर जाने कुरा भएको छ ।

देव गुरुङ, नेता, एमाओवादी

अहिले मुलुकको राष्ट्रिय राजनीतिमा डेडलकको अवस्था आएको छ । शान्ति प्रक्रिया र संविधान निर्माण–प्रक्रिया सम्पन्न गर्नका लागि पनि अहिले देखिएको डेडलक अन्त्य हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । साथै, पार्टी सञ्चालनका क्रममा भएका विगतका निर्णय, सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग हो । पार्टी सञ्चालन एवम् सङ्गठनका ती सबै कामकारबाही लोकतान्त्रिक विधिबाट गरिनुपर्छ भन्ने हाम्रो धारणा हो । मुलुक वर्षौंदेखि सङ्क्रमणकालको अवस्थामा रहेकाले अहिले एक पक्षले अर्को पक्षलाई निशेध गरेर जानसक्ने अवस्था छैन ।
पार्टीभित्र आपसी विश्वासको सङ्कटले यी सबै अन्तरविरोध र अविश्वासका कुरा उठेका हुन् । पार्टीभित्रै सत्तापक्ष र विपक्षको अवस्था विद्यमान रहेकाले हाम्रो भनाइ सबैबीच सहमति र सहकार्य गर्दै नयाँ रूपबाट अगाडि बढेर जाने भन्ने कुरा हो । हामीले विगतमा उठाउँदै आएका कुराको सम्बोधन गर्नका लागि सहकार्य गर्दै नयाँ उचाईबाट जानुपर्छ भनेर दबाब दिनका लागि अभियानका रूपमा यी कार्यक्रमको घोषणा गरिएको हो । यसमा पार्टी फुटाउनका लागि वा सरकार ढाल्ने भन्नका लागि होइन । र, हामी शान्ति र संविधानका विरोधी पनि होइनौँ ।
वर्तमानमा एमाओवादीभित्र अल्पमत, बहुमत, सत्तापक्ष, विपक्षजस्ता कुरा देखिएका छन् । यस्तो प्रवृत्तिको अन्त्य गर्न पनि हामी दबाबमूलक कार्यक्रम गर्न लागेका हौँ । हामी शान्ति, संविधान र राष्ट्रिय सरकारको पक्षमा छौँ, न कि यसको विपक्षमा । सरकार परिवर्तनको खेलभन्दा पनि शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकारका लागि आवश्यक दबाब दिने भन्ने कुरा भएको हो ।

प्रतिक्रिया