लेखापाललाई कारबाही नगर्न दबाब

नेपालगन्ज, ६ चैत । श्रम कार्यालय बाँकेका निलम्बित सहलेखापाल यज्ञबहादुर पौडेलको कारबाही फिर्ता लिन श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरीदेखि कर्मचारी सङ्गठनसम्मको दबाब परेको छ । सिडिओलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेको र कर्मचारी भर्तीका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै निलम्बन गर्ने कार्यालय प्रमुख रामचन्द्र पौडेलले आफूमाथि कारबाही फिर्ताका लागि चौतर्फी दबाब परेको बताए ।
‘फोनमा धेरै दबाब आयो,’ कार्यालय प्रमुख पौडेलले भने, ‘कहिले मन्त्रीको कहिले पिएको ।’ पौडेलले गरेको अनियमितताबारे विभागमा पठाइएको फाइलसमेत मन्त्रीको दबाबमा फिर्ता पठाइएको छ ।
भ्रष्टाचार आरोपमा निलम्बित सहलेखापाल पौडेललाई जोगाउन एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसवादी दलनिकट कर्मचारी सङ्गठनका अध्यक्ष र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगन्ज इकाइका अधिकृतले समेत साथ दिएको कार्यालय प्रमुख पौडेलको गुनासो छ । लेखा समूह र निजामती कर्मचारीका विभिन्न पेसागत सङ्घसङ्गठनका पदाधिकारीसहितको टोलीले शुक्रबार कार्यालय प्रमुख पौडेललाई कार्यकक्षमा बन्धक बनाई निलम्बन फुकुवाको पत्रमा जबर्जस्ती हस्ताक्षर गर्न बाध्य पारेका छन् ।
‘बाध्य भएर हस्ताक्षर गर्नुपर्‍यो,’ पौडेलले भने, ‘नत्र जे पनि गर्न सक्थे ।’ निजामती कर्मचारी युनियनका बाँके अध्यक्ष पदम जिसी, निजामती कर्मचारी सङ्गठनका अध्यक्ष कृष्ण थापा, मधेसी निजामती कर्मचारी युनियनका अध्यक्ष भागवतप्रसाद गुप्ताको नेतृत्वमा गएको कर्मचारीले पौडेललाई दुव्र्यवहार गरेका हुन् । मधेसी निजामती कर्मचारी युनियनका अध्यक्ष गुप्ताले सहलेखापाल पौडेललाई स्पष्टीकरण नसोधी निलम्बन गरिएकाले न्यायका लागि सहलेखापाल पौडेललाई साथ दिएको दाबी गरे ।
सहलेखापाल पौडेलले अनियमितता गरेको खुलासा भएपछि उत्पन्न समस्याका विषयमा छलफल गर्न आइतबार सिडिओ ढुण्डीराज पोख्रेलले बोलाएको कर्मचारीको बैठकमा मन्त्री गिरीका कार्यकर्ता रेखा गुप्तासमेत पुगेकी थिइन् । पौडेलका विषयमा भइरहेको छलफलमा पुगेकी गुप्ताले ‘पौडेललाई केही गर्नु हुन्न’ भन्दै आफू मन्त्रीको मान्छे भएको परिचय दिएपछि सिडिओ पोख्रेलले ‘तपाईं किन आएको ? बाहिर जानुहोस्’ भनेर बाहिर पठाएको एक कर्मचारीले बताए ।
सहलेखापाल पौडेलले तत्कालीन सिडिओ वासुदेव दाहाल, प्रशासकीय अधिकृत हरि प्याकुरेल, श्रम कार्यालयका नायब सुब्बा भोजराज उपाध्यायलगायतको किर्ते हस्ताक्षर गरेर ठगी गरेका थिए । सहलेखापाल पौडेलले कार्यालयमा नक्कली कर्मचारी भर्ना गरी किर्ते दस्तखत गरेर पारिश्रमिक लिएका थिए । उनले योगेन्द्रबहादुर शाही, रत्ना थापा, हरिकला बुढाथोकी, च्याम्टे दमाईं, भीमबहादुर बोहोरा, केवलराज बोहोरा र नरेन्द्र खटिकको नाममा मासिक १० हजार रुपियाँ पारिश्रमिक दिएको नक्कली दस्तखत गरी भर्पाई बनाएर रकम लिएका थिए । उनले पाँच लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ ।
बहालवाला कर्मचारीकै किर्ते दस्तखत गरी दैनिक भ्रमण भत्तासमेत लिएका पौडेलले कार्यालय प्रमुख पौडेल अध्ययन बिदामा दुई वर्षका लागि जापान गएका बेला आर्थिक घोटाला गरेका हुन् । विदेशबाट फर्केलगतै भ्रष्टाचारको प्रमाण फेला परेपछि प्रमुख पौडेलले ६ माघमा सहलेखापाललाई निलम्बन गरेका थिए ।
निलम्बनमा परेका पौडेलले फोनबाट धम्की दिन थालेपछि श्रम कार्यालयले सुरक्षाको माग गर्दै ८ माघमा जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएको थियो । तर, प्रशासनले बेवास्ता गर्दै आएको छ भने भ्रष्टाचार छानबिनमा अख्तियारले चासो नदिएपछि कार्यालय प्रमुख एक्लो भएका छन् ।
सिडिओ पोख्रेलले सहलेखापालको अनियमिततासम्बन्धी फायल झिकाएर अनुसन्धान थालिएको बताए । उनले भने, ‘अनियमितता गर्नेलाई कारबाही हुन्छ, त्यसै छाड्दिनँ ।’ अनियमितताको आरोप लागेका सहलेखापाल पौडेल भने कार्यालय गएर सादा कागजमा हाजिर गरी फर्कने गरेका छन् ।

प्रतिक्रिया