तारे होटलका दुई तिहाई कोठामात्रै बुकिङ

काठमाडौं, ५ चैत । सरकारले राष्ट्रिय महत्व दिएर मनाएको पर्यटन वर्ष २०११ मा ६१ प्रतिशत विदेशी पर्यटक तारे होटलमा बसेको तथ्याङ्कले देखाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्षभरि सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष कुल तीन लाख ९५ हजार चार सय ५९ पर्यटक राजधानी तथा पोखराका पाँच तारे होटलमा बसेका छन् । राजधानीमा आठ र पोखरामा दुईवटा पाँच तारे होटल सञ्चालनमा छन् । वर्षभरिमा ६ लाख ४१ हजार ६ सय ७० कोठा पाँच तारे होटलमा उपलब्ध थिए । सरकारले पहिलोपटक होटल अकुपेन्सीको तथ्याङ्क सङ्कलन गरेको हो । होटल एसोसिएसन अफ नेपालको सहयोगमा सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा बढी होटल अकुपेन्सी नोभेम्बर महिनामा थियो । नोभेम्बरमा पाँच तारे होटलका ८६ प्रतिशत कोठा भरिएको तथ्याङ्क छ । पोखरका होटलमा पनि सोही महिना बढी पाहुना बसेका थिए ।
तथ्याङ्कअनुसार जनवरीमा होटलको अकुपेन्सी ४८.६३ प्रतिशत थियो भने फेब्रुअरीमा ६२.३७ प्रतिशत विदेशी पर्यटक पाँच तारे होटलमा बसेका थिए । त्यस्तै मार्चमा ६२.९४ प्रतिशत अकुपेन्सी रहेकामा अप्रिलमा बढेर ६७.३७ प्रतिशत पुगेको थियो । अफ सिजनमा पनि मे महिनामा होटल अकुपेन्सी ५८.९४ प्रतिशत रहेकामा जुनमा ५६.११ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ । गत वर्ष उपत्यकाका पाँच तारे होटलको अकुपेन्सी ६६.११ प्रतिशत र पोखराको ३८.२७ प्रतिशत रहेको तथ्याङ्क छ । उपत्यकाका होटलमा पाँच लाख ३८ हजार तीन सय ७५ कोठा उपलब्ध भएकामा तीन लाख ५५ हजार नौ सय २५ भरिएका थिए । त्यस्तै पोखरामा एक लाख तीन हजार दुई सय ९५ उपलब्ध भएकामा ३९ हजार पाँच सय ३४ भरिएका थिए । काठमाडौँका होटलको तुलनामा पोखराका होटलको अकुपेन्सी प्रतिशत कम देखिएको छ ।

प्रतिक्रिया