खाद्य संस्थान डस्टबिनमा परिणत

दाङ, ५ चैत । नेपाल खाद्य संस्थानको दाङस्थित गोदामघरको अघिपछि दुवैतिर ठूला अक्षरमा लेखिएको छ ‘क्षमता’ एक हजार मेट्रिकटन । तर, एक हजार मेट्रिकटन क्षमता रहेको यो गोदामघरभित्र हाल एक गेडा चामल पनि छैन ।
दाल, तेललगायत खाद्य सामग्री त झन् हुने नै भएन । एक हजार मेट्रिकटन खाद्यान्न सञ्चिति गर्न सक्ने यो गोदामघर अहिले फोहर फाल्ने डस्टबिन बनेको छ । ३२ वटा झ्याल रहेको यो गोदामघरका कुनै पनि झ्यालमा सिसा र जाली छैनन् । भवनवरपर भएका खुला दिसा÷पिसाबले कार्यालय दुर्गन्धित छ । दाङका दुर्गम गाविसहरू धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा भइरहेका छन् । तर, घोराही बजारको मुटुमा अवस्थित खाद्य गोदामको कार्यालयमा चर्पी छैन । अधिकांश बटुवाको वारपार गर्ने सडक बनेको छ, कार्यालय परिसरको मैदान । कार्यालयको टिठलाग्दो अवस्था । भित्र र बाहिरको दुर्गन्ध, भवन परिसरमा ठडिएका अस्तव्यस्त झाडीले सरकारी कार्यालयको शोभा घटाएको छ ।
राप्तीका पाँचवटै जिल्लालाई लक्षित गरी दाङमा स्थापना गरिएको नेपाल खाद्य संस्थानको खाद्य गोदामघरको हो यो दुरावस्था । गोदामको भवनबाहिरको वातावरण जति दयालाग्दो छ, त्योभन्दा दयालाग्दो छ भित्र । गोदामका कोठा माकुराको जालोले जेलिएको छ ।
अञ्चलका पाँचवटै जिल्लामा खाद्यान्न पु¥याउने र स्थानीयलाई फुटकरमा चामल बिक्री गर्दै आएको संस्थानको काम दुई वर्षयता ठप्प छ । सडकको विस्तारसँगै यातायातका साधनहरू विकट जिल्ला पुगेपछि यहाँको कारोबार पनि सेलाएको हो । ‘सडकको विस्तार भयो, त्यसपछि बिस्तारै गोदामबाट चामलको बिक्रीवितरण कम भएको छ,’ गोदामप्रमुख धर्मबहादुर बस्नेतले भने, ‘अहिले त गोदामबाट कतै पनि खाद्यान्न बिक्री हँुदैन ।’ चार वर्ष अघिदेखि खाद्यसामग्री पु¥याउन छाडेको यो संस्थानका कर्मचारीसमेत कामविहीन छन् । खाद्यान्न नै नराख्ने यो गोदाममा न त उपभोक्ता आउँछन्, न कर्मचारीकै काम छ । घाम तापेर बित्छ उनीहरूको दिन ।   सल्यान, रोल्पा, रुकुमलगायतका जिल्लामा तुलसीपुरको नेपाल खाद्य संस्थाले खाद्यसामग्री पठाउने गर्छ भने प्युठान, रुकुमलगायतका जिल्लामा नेपालगञ्जबाट खाद्यसामग्री पु¥याउने गरिएको छ ।
गोदामको चामल मूल्यभन्दा बजारको मूल्य कम भएकाले स्थानीय उपभोक्ताले पनि बजारबाटै चामल तथा अन्य खाद्यसामग्री किन्ने गरेका छन् । ‘बजारको मूल्यभन्दा गोदामको खाद्यको मूल्य बढी हुन्छ, त्यसैले खाद्यमा स्थानीय आउन छोडेका छन्,’ गोदामप्रमुख बस्नेतले भने, ‘बजारमा खाद्य अभाव र मूल्यमा वृद्धि भएमात्रै उपभोक्ता यहाँ किन्न आउँछन् ।’

प्रतिक्रिया