चलेको चल्यै छ वसन्तको कलम

उमेरले ९० वर्ष पुगेको मान्छेको दैनिकी कस्तो होला ? सबैले सोच्छन्– पक्कै ख्वाङख्वाङ खोक्दै जतिखेरै ओछ्यानमा बसिरहला । कसैले केही दिए खाला, आफैँ खोजेर खान त कहाँ सक्ला र ? बाहिर–भित्र गर्न मन लागे अरूको सहाराकै अपेक्षा गरेर बस्ला । एकदम निष्क्रिय जीवन ।  तर, लेखक वसन्तकुमार नेपालको कुरै अर्को । अपवाद छन् उनी । यो उमेरमा पनि सक्रिय छन् ।
उनको शयनकक्ष हेर्दा लाग्छ– कतै किताब बेच्ने मान्छे पो हुन् कि ? वरिपरि किताबैकिताबको खात । र्‍याकभरि मोटामोटा किताब, एउटा सम्पन्न लाइब्रेरीजस्तो । उनी आफैँले लेखेका किताब पनि प्रशस्तै छन् । ७४ वटा प्रकाशित गरिसके, प्रकाशित नभएका पनि थुप्रै छन् । आफूले लेखेको शब्दकोश ‘शब्दसागर’ थुप्रै देशका लाइब्रेरीमा पुगेको सुनाउँदै थिए उनी । यो उमेरमा पनि अझै लेख्ने जाँगर सेलाएको छैन । कहिलेकाहीँ प्रेसरले यसो सताइटोपल्छ, नत्र अरू स्वास्थ्य–अवरोध झेल्नुपरेको छैन रे ! उनले फुर्ती झिके– ‘प्रेसर पनि मलाई मन लाग्या बेलाँ मात्रै बढ्ने हो !’
बिहान पाँच बजेर पाँच मिनेट जाँदा उनको ज्यानले ओछ्यान छाडिसक्छ । श्रीमती पनि सँगै उठ्छिन् । अनि बाथरुमबाहिर सुरु हुन्छ उनीहरूको छेडखानी, प्रेममा परेर भर्खरै बिहे गरेका दुलहा–दुलहीको जस्तै । दुवैलाई दिनहुँ नुहाउनुपर्छ । दुवै म पहिला जान्छु भन्छन् । ‘के गर्ने एकैचोटि उठ्दा कुरै मिल्दैन भनेको’, उनले सुनाए– ‘घरका अरू सबै तातोपानीले नुहाउँछन्, मचाहिँ सधैँ चिसै पानीले नुहाउँछु ।’ नुहाउँदा उनी कहिल्यै साबुन प्रयोग गर्दैनन् रे !
०७९ साल रामनवमीका दिन जन्मेका उनी ०९५ सालदेखि लेखनमा सक्रिय छन् । अहिले पनि त्यो सक्रियता उत्तिकै छ, लामालामा दाह्रीले नै बताउँछन् । ‘के गर्नु फुर्सदै हुँदैन, कति मात्रै काटिरहने ?’ सुनाए– ‘त्यसैले म दाह्रीको परवाह गर्दिनँ, १०–१५ दिनमा एकचोटि काट्ने हो ।’ उठेपछि उनी नित्य आधा घन्टा प्राणायाम गर्छन् । भात खान थालेको एक वर्ष भएछ । त्यसअगाडि २४ वर्षदेखि उनी झोल चिज मात्रै खान्थे रे ! ‘दाल, सातुजस्ताको झोल नै खाएँ निकै समय’, यसो भन्दै उनले छेउमै रहेको सातुको डब्बा देखाई पनि हाले । ५८ सालमा उनलाई हर्ट एट्याक हुँदा ७४ घन्टापछि होस आएको रहेछ । त्यसयताचाहिँ खासै केही भएको छैन । त्यसो त एक वर्षअघि निमोनिया भएपछि मर्निङवाक पनि छाडेका छन् । अहिले उनी डा. अरुण सायमी र डा. भगवान् कोइरालासँग नियमित स्वास्थ्य जाँच गराउँदा रहेछन् ।
नियमित पूजापाठ गर्छन्, घरमा सानोतिनो मन्दिरै बनाएका छन् । उनको आफ्नै तर्क छ– ‘अरूलाई देखाउनकै लागि भनेर मन्दिरतिर गइराख्दिनँ, पूजा त आखिर जहाँ गरे पनि भइहाल्यो नि !’ खानामा उनलाई जे दिए पनि हुन्छ रे ! अमिलो–पिरो सकेसम्म नखाऊँ भन्ने सोच्छन्, तर अगाडि आइपुगे खाई पनि हाल्छन् । ‘मैले ढाँटेको होइन, छोराछोरी यहीँ छन्, सोध्नुस्’, उनले प्रस्ट पार्न खोजे । उनी शाकाहारी हुन्, ३० वर्ष भयो माछामासु छाडेको । यो उमेरमा पनि आफ्नो पेट बडेमानको भएकामा चाहिँ उनलाई अलिअलि चिन्ता लाग्छ । त्यसैले भित्रपट्टि सधैँ पेटी लगाउँछन् रे !
दैनिक तीन घन्टाभन्दा बढी सुत्दा रहेनछन् उनी । जतिखेरै लेखेको लेख्यै । कुनै किताब लेख्न त १३ वर्ष पनि लागेको छ रे ! किताब प्रकाशन गर्न पैसा पनि निकै लाग्छ । ‘म अरूको खान्नँ, दान–बक्सिस लिँदै लिन्नँ’, उनले ठट्टा गरे– ‘दानका नाममा ससुरालीबाट श्रीमतीबाहेक केही लिएको छैन ।’ नेपाली ‘शब्दसागर’ प्रकाशनको समयमा स्व.युवराज दीपेन्द्रले उनलाई सहयोग गर्न खोजेछन् । तर, उनले इमानदारी देखाएछन्  । भनेछन्– ‘म लिन्नँ सरकार, आफैँ गर्छु ।’
त्यो इमानदारी अझै कायम छ । अनि कायमै छ त्यो जोस, जुन जोस उनीसँग सक्रिय युवा अवस्थामा थियो । उनको कलम अनवरत चलिरहेछ, त्यसलाई बुढ्यौलीले रोक्न सकेको छैन । दृढ अनि सन्तुष्ट छन् उनी । के हो त यसको रहस्य ? उनले सुनाए– ‘मनमा सन्तोष लिएर काम गर्नुपर्छ, तन्दुरुस्त भइन्छ । बाँचुन्जेल काम गर्नुपर्छ, मलाई यस्तै लाग्छ ।’

प्रतिक्रिया