राष्ट्रको आयु खाइरहेको सरकारको आयु

नेकपा (माओवादी)का तिलस्मी मानिएका प्राधिकार प्रचण्डको क्षेत्रबाट अधिकार तानेर प्रधानमन्त्री हुन पुगेका तेस्रो वरियताका ‘विद्वान्’ नेता डा. बाबुराम भट्टराईको लोकप्रियता कति बढ्दो वा कति मात्रामा घट्तो स्तरमा छ भनी जनमत बुझ्नुपर्ने बेला आइसकेको छ । माओवादीले दुई–दुई पटक सत्ता सम्हालिसकेको छ, तर उसले दाबी गरेको महान् जनयुद्धका कारक तत्वहरू जे थिए, तिनीहरू यथावतै छन् । मुलुक सन्निपातको रोगीजस्तो बर्बराइरहेको छ र छेउमै सुतेको अर्को सन्निपातको रोगीजस्तो किरण पक्षका बर्बराहट पनि सुनिरहेको छ । कांग्रेस र एमालेका पालामा सरकारको औचित्य समाप्त भएको र राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने जुन रटान आन्तरिक प्रतिपक्षबाट सुनिन्थ्यो, त्यो ‘महान्’ क्रान्तिकारी एमाओवादीमा पनि सुनिएकै छ ।
पहिले माओवादी निकट प्रेसले पूर्ववर्ती सरकारलाई लगाउने गरेको अभियोग अहिले उसैभित्रको प्रतिपक्षले लगाइरहेको छ– भ्रष्ट, अनैतिक, जनविरोधी, अराष्ट्रिय, भारतीय दलाल आदि । भ्रष्टताको ताजा उदाहरण हो, बाबुरामको नेतृत्वमा चलेको राज्यले प्रचण्डपुत्रको टोलीलाई सगरमाथा आरोहणका लागि दुई करोड निकासा दिनु (अनि प्रचण्ड पुत्रले सो राशि अपुग भएर लिन नमान्नु) । निर्धन र हरितन्नम नेपाली जनताबाट उठाइएको करलाई शक्ति र पहुँचकै भरमा यसरी पर्वतारोहणमा खर्च गरिनु आफैँमा लज्जास्पद कुरा हो । त्यसमाथि, प्रचण्डपुत्रको दाबीअनुसार, शान्ति र संविधानका लागि सगरमाथाबाट दबाब दिने निवेदन पर्नु, बाबुरामले त्यस दाबीलाई उचित ठान्नु र राज्यकोषबाट धनराशि छुट्याउनु नेपालका लागि अति नै घिनलाग्दो राज्य व्यवहार हो ।
युवा क्रान्तिकारी र आफ्ना प्रभावशाली पिताका वरिपरि उपग्रहझैँ घुमिरहने प्रकाश दाहालका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाजिम्पाटस्थित आफ्नै घरमा उपलब्ध छन्, नभए कुनै रिसोर्टमा उपलब्ध भइहाल्ने निरन्तर चिन्तनशील प्राणी हुन् । प्रकाशलाई पक्कै पनि शान्ति र संविधान निर्माण प्रक्रिया टुङ्ग्याउनमा आफ्ना पिताको भूमिका कति शक्तिशाली र महत्वपूर्ण छ भन्ने थाहा छ । उनलाई प्रधानमन्त्री रहेका र आफ्ना पिताका घनिष्ठ सहयोगी डा. बाबुराम भट्टराईको हातमा शान्ति र संविधान निर्माणप्रक्रियाको साँचो छ भन्ने पनि ज्ञान हुनै पर्छ । उनले नेपाल र भारतमा रहँदा आफ्ना पिता र काकाका भूमिका र बौद्धिक चातुर्यको आँकलन गरेकै हुनुपर्छ । तर, यहीँनिर प्रश्न उठ्छ, उनले आफ्नै पिता र घरमा पितालाई ब्रिफिङ गर्न आइरहने काका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई घरमै रातोदिन दबाब दिन छाडेर पर्वतारोहण र अझ विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा उभिएर हात हल्लाउँदै शान्ति र संविधान निर्माणका लागि दबाब दिने इच्छा राखेका हुन् ? त्यस अभिष्टलाई के आधारमा प्रधानमन्त्री बाबुरामले अनुमोदन गरेका हुन् भन्ने प्रश्न पनि उठ्न जान्छ ।
पर्वतारोहण चुनौतीपूर्ण शोख हो । त्यसमाथि पनि प्रकाश दाहाल एन्ड कम्पनीको टोलीले लाङटाङ हिमाल आरोहण गरिसकेको रहेछ । पर्वतारोहणबाट शान्ति र संविधान निर्माणमा दबाब पुग्ने भए अलिअलि त्यस आरोहणबाट पनि दबाब पुगेको हुनुपर्छ । तथापि त्यस उचाइबाट पनि दबाब महसुस नभएको लागेर हुनुपर्छ उनी सर्वोच्च शिखरकै यात्रातर्फ प्रवृत्त भए । यसबाट अर्को शङ्का पनि मनमा सहसा उत्पन्न हुन्छ, सङ्घीय लोकतान्त्रिक नेपालको संविधान अति कम अक्सिजन हुने ठाउँमा कतै जमेर बसेको त छैन जसलाई प्रकाश त्यहीँ पुगेर स्पर्श गर्न चाहन्छन् र दलहरू र तिनका नेतालाई जबर्जस्त दबाब दिन खोजिरहेका छन् ? प्रचण्डपुत्रको यो एक प्रकारको गम्भीर मनोदशा हो । होस्, तर ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी कामरेड बाबुराम प्रधानमन्त्री भएका बेला राष्ट्रको इतिहासको गम्भीर मोडमा आएर प्रचण्डपुत्रको यस प्रकारको मनोदशालाई के आधारमा अनुमोदन गरिरहेका छन् र यत्रो ठूलो धनराशिको व्यवस्था गरिरहेका छन् ? बाबुरामजीको यो कस्तो मनोदशा हो ?
ठीक यसैबेला एमाओवादीभित्रको प्रतिपक्षी टोलीका अगुवा सरकारको नेतृत्वमा रहिरहन डा. बाबुरामको औचित्य समाप्त भएको घोषणा गरिरहेका छन् । उनीहरू पनि शान्ति र संविधान निर्माणको साँचो आफ्नो हातमा अँठ्याइरहेका अति शक्तिशाली आफ्नै अध्यक्षलाई घरभित्र दबाब दिन छाडेर बाहिर नारा लगाइरहेका छन् । बाबुरामजीको पालामा पार्टीको कुनै निर्णय पनि पालना नगरिएको निष्कर्षसहित कमरेड वैद्य, बादल  र विप्लव बाबुरामजीले राजीनामा दिनुपर्छ भनी चिच्याइरहेका छन् । यस्तो लाग्छ, आफ्नो घरभित्र कामरेड प्रचण्ड कुनै प्रकारको दबाब महसुस गर्दैनन् । आफ्नो घरभित्र कमरेड बाबुराममाथि पनि दबाब महसुस हुन्न । फलतः दबाबका लागि प्रकाश हिमालय पर्वततिर र बादल दख्खिनको उत्तप्त उष्णप्रदेशतिर उन्मुख भएका छन् । यसबाट एमाओवादीमा खस्कँदो भौतिक चेत र उर्लंदो आध्यात्मिक चेत दृष्टिगोचर हुन्छ ।
एमाओवादीका वरिष्ठ र कनिष्ठ दुवै वर्गका कुशाग्रबुद्धिका कामरेडलाई रकम कहाँबाट आउँछ भन्ने राम्रो ज्ञान छ र सो रकम कसरी प्राप्त गर्न सकिन्छ भन्ने उपायको सुझबुझ पनि छ । यतिबेला आफ्नै सरकार छ, काका प्रधानमन्त्री छन्, काकालाई प्रधानमन्त्री बनाउने क्षमता भएका पिता सर्वशक्तिमान् छन् । पर्वतारोहणबाट राज्यले कति आम्दानी गर्छ, कहाँकहाँ खर्च गर्छ र सो निर्णय कसले गर्न सक्छ भन्ने कुरा पनि निजहरूलाई थाहा भएकै विषय हो । पहिलेपहिलेझैँ सिधा बाटोबाट रकम आइरहनु उति प्रीतिकर हुन्न, अहिले रकम आउने बाङ्गो बाटोलाई सहज र सरल बनाउन सक्ने क्षमता आफ्नै राज्य नेतृत्वमा छ । दिने र लिने दुवै पक्षको सुविधाका लागि यो मार्ग उत्तम मार्ग हो । तसर्थ, यस प्रकारको पाखण्डपूर्ण चातुर्यको प्रयोग भयो । बाबुरामप्रति सदाशय राख्ने र उनलाई प्रधानमन्त्री भएको देख्न चाहने, उनीप्रति निकै आश्वस्त रहेका, उनलाई यस देशका सर्वश्रेष्ठ विद्वान् नेता भनी पुकार्ने जनसाधारणलाई पनि प्रचण्डपुत्रप्रतिको बाबुरामको यस्तो आशक्ति धेरै हदसम्म निराशाजनक अभिव्यक्तिमा रूपान्तरित भएको देखिएको छ ।
सरकारको आयुका बारेमा अड्कलहरू सुरु भएका छन् । स्वयम् सत्तारूढ र संविधानसभा तथा व्यवस्थापिका संसद्मा आसीन सर्वाधिक ठूलो पार्टीको एक पक्ष बाबुरामजीलाई बहिर्गमनका लागि दबाबको सिर्जना गर्दैछ । सबैलाई थाहा छ, यस्तो यसपटक मात्र भएको होइन, माधवकुमार नेपाललाई बाहिर पार्न पार्टीभित्रैको अर्को पक्ष लागिपरेको थियो, झलनाथलाई आफ्नै सहकर्मीले सत्ताच्यूत गरेका थिए । कृष्णप्रसाद भट्टराईलाई बहुचर्चित अन्तर्घातले सिंहदरबार र बालुवाटारबाट गलहत्याएर भैँसेपाटीतिर पु¥याइदिएको थियो । जनताको आशय के थियो भने एमाओवादी र त्यसमा पनि बाबुरामजस्ता विद्वान् व्यक्ति प्रधानमन्त्रीमा आए त्यस्तो विघ्न टरेर जानेछ किनभने यो जङ्गलबाट जोडले सहर पसेको जत्था हो । तर, हेर्दै जाँदा, एमाओवादीप्रतिको त्यो विश्वास मिथ्या रहेछ र एमाओवादी स्टालिनले भनेझैँ अलग धातुले बनेको रहेनछ भन्ने प्रस्ट भयो । उनीहरू धेरै हदसम्म विफल भए । युवा स्वरोजगार कार्यक्रमदेखि स्वेच्छिक अवकाश रोजेका लडाकुप्रतिको चरम आर्थिक शोषणसम्म, आर्थिक सहायता वितरणदेखि प्रचण्डपुत्रलाई दुई करोड निकासीसम्मका मुद्दाहरूले बाबुराम सरकारको आयुलाई छोट्याइसकेका छन् । तर, अझै पनि संविधान निर्माण कार्यलाई पाखा लगाउने नियतले यस्तो महत्वपूर्ण समयमा आफ्ना मन्त्री र सांसद्लाई विदेश पठाउने कार्यबाट यस मुलुककै आयु छोटिने शङ्का व्याप्त
हुँदै छ ।
[email protected]

प्रतिक्रिया