‘न न्याय पाइयो न राहत’

चितवन, ५ चैत । ‘एकातिर बुढेसकालमा परिवारको गर्जो धान्न समस्या छ, अर्कातिर छोराका हत्यारालाई माफी दिइएको छ,’ नारायणगढका डिलबहादुर लामा छोराको हत्यामा संलग्नलाई माफी दिइएको घटनाले झनै पीडा महसुस गर्दै छन् ।
१० भदौ ०६८ मा कविलासको केराघारीमा गोली हानेर लामाका २४ वर्षीय छोरा सञ्जयको हत्या भयो । छोराको हत्यापछि डेढवर्षीया छोरी सिञ्जिया, बुहारी सरिता र पत्नी हर्कमायासँगै लामा कोठा लिएर नारायणगढमा बस्दै आएका छन् । बुढेसकालमा छोरालाई गुमाएको पीडा र परिवार पाल्ने बोझले थलिएका लामा यतिखेर छोराको हत्यामा संलग्नलाई राज्यले माफी दिएको सुनेर भक्कानिन्छन् ।
‘छोराको हत्यापछि भएको विरोधमा दलहरूले बुहारीलाई जागिर दिने बताए, राज्यले १० लाख रुपियाँ राहत दिने भन्यो,’ उनी भन्छन्, ‘न बुहारीले जागिर पाइन् न राज्यले १० लाख रुपियाँ दियो । बरु छोराका हत्यामा समातिएकालाई पो आममाफी दिइयो ।’ सञ्जय लामाको हत्या प्रकरणमा समातिएका आठजनालाई राज्यले माफी दिएर मुद्दा फिर्ता लिएको छ ।
लामाको हत्यापछि चितवनमा शृङ्खलाबद्ध हत्या भए । लामा हत्यामा संलग्न आरोपमा समातिएकामध्ये चितवन कारागारमा भएको झडपमा नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको मृत्यु भयो । पौडेलको मृत्युपछि भएको आन्दोलनले लामा हत्या घटनाका सबैको मुद्दा फिर्ता भएको हो ।
सरकारले मुद्दा फिर्ता लिएको घटनालाई बाबु डिलबहादुर भन्छन्, ‘अदालतले दोषी भनिसकेकालाई राज्यले सुटुक्क घर फर्कायो,’ उनी थप्छन्, ‘छाँगाबाट खसेजस्तो भएँ, यस्तो पनि न्याय हो ? सम्पत्ति र शक्तिलाई न्यायसँग जोड्न पाइँदैन, हामी धन नभएकालाई पनि न्याय चाहिन्छ ।’
धादिङ सत्यदेवी–७ बाट ०६२ सालमा सञ्जयको परिवार चितवन झरेको हो । सञ्जयकै कमाइमा पालिएको परिवार हत्यापछि समस्यामा परेको छ । राज्यले दिने भनेको १० लाख रुपियाँ र बुहारीको जागिरको कुरा पनि हराएपछि अहिले उनी न्यायका लागि याचना गरिरहेका छन् ।

मुद्दा फिर्ताले मन रोयो

कमल डाँगी

नेपालगन्ज, ५ चैत । बाँके कम्दी–४ मसाहाका ७१ वर्षीय लल्लन खांँले आफ्ना भाइको अपरहण मुद्दामा संलग्न सागिर खाँको मुद्दा सरकारले फिर्ता लिएको चियापसलमा गाइँगुइँ सुन्दा पत्याएनन् । घर पुगेर रेडियोमा समाचार सुनेपछि भाइको अपहरणका अभियुक्तको मुद्दा फिर्ता भएको कुरा उनले नपत्याई सुखै पाएनन्, उनलाई निकै पीडा भयो । सौर्यसँग उनले भने, ‘माओवादीमा गएपछि अपराध गरे पनि मुद्दा फिर्ता
हुँदो रहेछ ।’
१ मंसिर २०६६ मा लल्लनका भाइ अब्दुल वारिक र अब्दुल ललिजलाई कटुवा पेस्तोल देखाई अपहरण गरेको अभियोगमा सागिरमाथि अदालतमा मुद्दा चलिरहेको थियो । लल्लन र सागिरबीचको विवाद आठ वर्ष पुरानो हो । आठ वर्षअघि कुटपिटको घटनालाई सागिरले ज्यान मार्ने उद्योग भनेर प्रहरीमा मुद्दा दर्ता गरेपछि लल्लन एक साता प्रहरी हिरासतमा बसे । त्यसपछिको रिसइबीमा लल्लनका दुई भाइलाई सागिरले अपहरण गरे । २८ माघ २०६६ मा सागिरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेका थिए तर  सरकारले सागिरको मुद्दा फिर्ता लिएपछि लल्लन परिवार न्यायबाट वञ्चित भएका हुन् ।

प्रतिक्रिया