कर्मचारीबाट रकम असुल

दाङ, ५ चैत । गरिबी निवारण कोषको आर्थिक सहयोगमा रुकुममा सञ्चालित ग्रामीण पहुँच विकास र अनुसन्धान संस्था (राडार) ले संस्थाका प्रत्येक कर्मचारीबाट १० प्रतिशत रकम असुल गरिरहेको छ । ‘संस्थागत विकास’ शीर्षकमा कर्मचारीबाट असुल गरिएको रकमलाई दाता  कोषले समेत अवैध
भनेको छ ।
२०६३ सालदेखि रुकुममा सञ्चालित राडार परियोजना कार्यालयले हरेक महिना कर्मचारीको तलबबाट १० प्रतिशत रकम कार्यालयलाई सहयोगको बेहोरा देखाई लिने गरेको संस्थाका कर्मचारीले बताए । सौर्यलाई उपलब्ध गराइएको सम्झौतापत्रमा ‘प्रथम पक्षले द्वितीय पक्षलाई कोषसँग भएको सम्झौतामा उल्लेख गरिएको मासिक तलब रकममा १० प्रतिशत संस्थागत विकासका लागि कटाई बाँकी रकम उपलब्ध गराइनेछ’ भन्ने लेखिएको छ । सम्झौतापत्रमा रकम आन्तरिक राजस्व कार्यालयमा जम्मा गरिने उल्लेख छ ।
कर्मचारीबाट असुल गरिएको रकम दाङ, काठमाडाँै र रुकुममा रहेका संस्थाका कार्यालय घरभाडा तिर्न खर्च गरिएको अध्यक्ष देवेन्द्र केसीले बताए । । हाल राडार परियोजना कार्यालय रुकुममा एक कार्यक्रम संयोजक, एक लेखा तथा सुपरभाइजर र चार  सामाजिक परिचालक छन् ।
राडारले कर्मचारीबाट मासिकरूपमा सङ्कलन गरेको रकमलाई कोषले  अवैध मानेको छ । संस्थामा कार्यरत कर्मचारीलाई दिइएको तलबमा कुनै कर कट्टी नगरी कर्मचारीले पाउनुपर्ने रुकुमका लागि कोषका कार्य प्रबन्धक ईश्वरीलाल विश्वकर्माले बताए ।
संस्थाले कोषले कर्मचारीलाई उपलब्ध गराएको कर्मचारी तलबमा अनियमितता गरेको विश्वकर्माले स्विकारे । विश्वकर्माले कोषद्वारा सञ्चालित गैरसरकारी संस्थाले सम्झौता गर्दा पूर्णरूपमा तलब दिइने बेहोरामा हस्ताक्षर गर्ने गरेको तर पछि कर्मचारीबाट अवैधरूपमा कर उठाइने गरेको जानकारी प्राप्त भएको बताए ।
‘त्यसरी लिइएको रकम अवैध हो’, उनी भन्छन्, ‘लिखितरूपमा उजुरी आए कारबाही गर्छौँ’ । रुकुममा कोषको सहयोगमा १० वटा गैरसरकारी संस्था सञ्चालित छन् ।
राडारका अध्यक्ष केसीले कर्मचारीको तलबमा काटिएको १० प्रतिशत रकमलाई कर्मचारीले पेस्की रकम लिएको बेहोरा देखाएर लिने गरेका छन् । संस्थामा नियुक्त कर्मचारीसँग सम्झौतापत्रमा कर्मचारीले पाएको तलबमा १० प्रतिशत रकम कटौती गरी ‘संस्थागत विकास’ शीर्षकमा लिने गरेको उल्लेख छ । सम्झौतापत्रमा संस्थाका अध्यक्ष केसीले हस्ताक्षर गरेका छन् ।
एउटा संस्थामा दुई प्रमुख
राडार परियोजना कार्यालय रुकुममा दुई कार्यक्रम संयोजक छन् । अध्यक्ष केसीले १ मङ्सिरमा दाङका चमन धिताललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएर रुकुममा खटाएका थिए । तर, केसीले फागुनदेखि रुकुमका पुस्तक चन्दलाई नयाँ कार्यक्रम संयोजकको जिम्मेवारी दिएका छन् भने धिताललाई पनि संस्थाबाट हटाएका छैनन् । संस्थाले कुनै पनि कर्मचारीलाई नियुक्ति दिनुपर्ने अवस्था आएमा खुला प्रतियोगिताबाट छनौट गरिने व्यवस्था छ । तर, चन्द कुनै पनि प्रतियोगितामा सहभागी भएनन् । लिखित तथा मौखिक परीक्षामा सहभागी नभई संयोजक भएका  चन्दले हालसम्म नियुक्तिपत्र नपाए पनि कार्यक्रम संयोजकको हैसियतमा काम गरिरहेका छन् ।
२८ फागुनमा राडारले रुकुममा आयोजना गरेको समन्वयन बैठकमा समेत चन्दले कार्यक्रम संयोजकको हैसियतमा सहभागिता जनाएका थिए । यता, धितालले भने आफूले संस्थाबाट राजीनामा नदिएको र अध्यक्ष केसीले बलजफ्ती संस्थामा मनोमानी चलाएको आरोप लगाए । उनले यो विषयमा कोषमा उजुरी गर्ने बताए ।

प्रतिक्रिया