मेहतासँग मन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौँ, ५ चैत । समाज कल्याणमन्त्री दानबहादुर चौधरीले समाजकल्याण परिषद् उपाध्यक्षमा आफैँले नियुक्त गरेका प्रमोद मेहतासँग आइतबार स्पष्टीकरण सोधेका छन् । मेहता नेपाल प्रहरीका भगौडा सई भएको समाचार सौर्यले प्रकाशित गरेपछि त्यस विषयमा उनले स्पष्टीकरण सोधेका हुन् ।
मन्त्री चौधरीले मेहतालाई स्पष्टीकरणका लागि मन्त्रालयमै बोलाएका थिए । आइतबार बिहान ११ः३० बजे मन्त्रालय पुगेका मेहतालाई मन्त्री चौधरीले ‘पत्रपत्रिकामा आएका समाचार ठीक हुन् कि होइनन्’ भनी सोधेको स्रोतले बतायो । मेहताले आफू नेपाल प्रहरीमा जागिर खाँदाखाँदै भागेको स्विकार्दै सरकारी सेवामा अयोग्य ठहरिनेगरी राजीनामा नदिएको दाबी गरेका थिए ।
मन्त्री चौधरीले सौर्यसँग भने, ‘पत्रिकामा आएका समाचारप्रति ध्यानाकर्षण गराउँदै मेहतासँग सोधपुछ गरिएको हो ।’ मन्त्री र मेहताबीच करिब २५ मिनेट सवाल–जवाफ
चलेको थियो ।
मेहताले प्रहरी सहायक निरीक्षकका रूपमा १७ वैशाख ०४९ मा जागिर सुरु गरेका थिए । उनले ७ भदौ ०६१ मा अवकाश पाएका हुन् । उनी जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत हुँदा बिनासूचना बिदामा बसेका थिए । कार्यालयमा १६ दिनसम्म पनि उनी हाजिर हुन नआएपछि प्रहरी प्रधान कार्यालयले दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गरी हाजिर हुन आउन भनेको थियो । तोकिएको मितिभित्र हाजिर हुन नआएपछि उनलाई प्रधान कार्यालयले भविष्यमा कुनै पनि सरकारी पदमा अयोग्य ठहर नहुनेगरी अवकाश दिएको थियो ।
प्रहरी नियमावलीअनुसार १६ दिनसम्म जानकारीबिना हाजिर हुन नआए ३५ दिने सूचना निकालिन्छ । त्यही बीचमा प्रहरी प्रधान कार्यालयले सेवाबाट अवकाश दिएको खण्डमा उसले ३५ दिनभित्र पुनरावेदन दिइसक्नुपर्ने हुन्छ । पुनरावेदनको फैसला गर्ने अधिकार गृहसचिवसँग हुन्छ । समाजकल्याण परिषद् ऐन ०४९ अनुसार उपाध्यक्ष र कोषाध्यक्षमा नियुक्त हुने व्यक्ति समाज सेवामा विशिष्ट योगदान दिएको हुनुपर्छ ।

प्रतिक्रिया