२ करोड दिएको बिरोधमा राजधानीमा प्रदर्शन


काठमाडौं, ५ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित सगरमाथा आरोहण टोलीलाई २ करोड दिने सरकारी निर्णयको बिरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले आजपनि राजधानीमा प्रदर्शन गरेका छन् ।

विद्यार्थी प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको प्रहरीले जनाएको छ । कांग्रेस र एमाले निकट विद्यार्थी संगठनहरुले २ करोड दिने निर्णय फिर्ताको मागगर्दै काठमाडौंका बिभिन्न क्याम्पसहरु अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकै क्रममा नेविसंघले शंकरदेब क्याम्पस अगाडी पुतलिसडकमा प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताले प्रकाश दाहाल सम्मिलित टोलीलाई रकम अप्रयाप्त रहेको भन्दै राजधानीमा रकम संकलन समेत गरेका छन् । संकलित रकम प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत प्रकाश दाहाल सम्मिलित टोलीलाई उपलब्ध गराईने नेविसंघका नेता युपी लामिछानेले जानकारी दिए ।

उता, अनेरास्ववियुका कार्यकताले पनि बिभिन्न क्याम्पस अगाडी चक्का जामका साथै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई र प्रकाश दाहाल बिरुद्ध नारावाजी गरेका थिए ।

प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी झण्डा लिएर जम्मा भएका विद्यार्थीले केही समय सडकमा सवारी आवागमन बन्द गराएका थिए । बन्दका कारण त्यस क्षेत्र भएर चल्ने सवारी साधन केही समय प्रभावित भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया