फेरि निगमको मासिक घाटा बढ्यो

काठमाडौँ, ४ चैत । नेपाल आयल निगमको मासिक घाटा फेरि बढेको छ । भारतीय आयल कर्पोरेसनले १६ मार्चमा पठाएको पेट्रोलियमको नयाँ मूल्यदरअनुसार निगमको मासिक घाटा बढेर एक अर्ब ३४ करोड २० लाख रुपियाँ पुगेको हो ।
यसअघि निगमले पेट्रोलियमको मूल्य वृद्धि गर्दा मासिक घाटा ८५ करोड ७५ लाख रहेको जनाएको थियो । भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यसूचीअनुसार मार्चमा निगमलाई डिजेलमा ९१ करोड २१ लाख ९६ हजार एक सय ९९ र एलपी ग्यासमा ६७ करोड ६० लाख ७४ हजार दुई सय पाँच रुपियाँ घाटा छ । गत फेब्रुअरीमा निगमलाई डिजलमा ६४ करोड ७९ लाख ११ हजार नौ सय २१ र ग्यासमा ५४ करोड ५१ लाख ३६ हजार पाँच सय ७१ रुपियाँ घाटा थियो ।
यस्तै, यो महिना पेट्रोलमा ४३ लाख ६७ हजार चार सय ७०, मट्टीतेलमा ७५ लाख ५९ हजार दुई सय ८८, आन्तरिक हवाई इन्धनमा ६ करोड आठ लाख ९१ हजार चार सय ९९ र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १७ करोड ९४ लाख २४ हजार चार सय ६ रुपियाँ नाफा रहेको जनाएको छ ।
निगमले रक्सौलबाट खरिद गरेको मूल्यमा सरकारी राजस्व, मूल्य अभिवृद्धि कर, निगमको ऋण खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन, डिलर खर्च आदि जोडेर नाफाघाटा देखाउने गरेको निगम प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए । निगमको प्रशासनिक सुधार र प्राविधिक चुहावट नियन्त्रण हुन नसक्दा मासिक घाटा बढ्दै गएको छ ।
नयाँ रेटअनुसार पेट्रोलमा प्रतिलिटर २६ पैसा, मट्टीतेलमा एक रुपियाँ २६ पैसा, आन्तरिक हवाई इन्धनमा २० रुपियाँ ३० पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २५ रुपियाँ ६३ पैसा नाफा देखिएको छ । तर, डिजेलमा प्रतिलिटर १४ रुपियाँ ३ पैसा र एल्पी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ६३ रुपियाँ घाटा रहेको निगमले जनाएको छ ।
निगमका अनुसार मार्चमा रक्सौलको खरिद मूल्य पेट्रोल प्रतिलिटर ७४ रुपियाँ १६ पैसा, डिजेल ७७ रुपियाँ ७४ पैसा, मट्टीतेल ७४ रुपियाँ ४६ पैसा, आन्तरिक हवाई इन्धन ६९ रुपियाँ ३८ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन ६९ रुपियाँ ३८ पैसा र ग्यास १४ सय ९९ रुपियाँ ९९ पैसा रहेको छ ।
अहिले १७ हजार किलोलिटर पेट्रोल, ६ हजार पाँच सय किलोलिटर डिजेल, ६ हजार किलोलिटर मट्टीतेल, तीन हजार किलोलिटर आन्तरिक हवाई इन्धन, सात हजार अन्तर्राष्ट्रिय हवाई इन्धन र १२ लाख सिलिन्डर एल्पी ग्यास मासिक खपत रहेको ढुङ्गेलले जनाए । यो परिमाणमा खपत भइरहे पनि अझैसम्म एल्पी ग्यासको अभाव भने बजारमा कायमै रहेको छ ।

प्रतिक्रिया