युनिटीका प्रेसिडेन्ट टण्डन पक्राउ

काठमाडौं, ४ चैत । युनिटी ठगी प्रकरण पछि फरार रहेका युनिटी लाईफ ईन्टरनेशनलका डबल प्रेसिडेन्ट एल.बि. भन्ने लोकबहादुर टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३ तिलिङगेटार बस्ने ४७ वर्षीय टण्डनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले सामाखुशीबाट पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । उनी गुल्मी जिल्ला निवासी हुन् ।

युनिटी ठगी प्रकरणमा संलग्न रही टण्डनले ३ अर्व ७९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपियाँ ७२ पैसा बराबरको रकम ठगी गरेको आरोप छ । प्रहरीले २०६७ असार १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत ललितपुरमा बुझाएको थियो ।

असार २० गते जिल्ला अदालत ललितपुरकै फैसलाले १ करोड ५० लाख धरौटीमा छुटेका टण्डन पुनरावेदन अदालत पाटनको २०६७ पुस ३० गतेको फैसलामा दोषी ठहर गरी थुनामा राख्ने आदेश भएलगत्तै फरार रहेका थिए ।

हिजो पक्राउ परेका टण्डनलाई आवश्यक कानूनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया