परेसानपीपलबोट !

साँझ पर्दै छ, नजिकैको पत्रिका पसले ग्राहकलाई हिन्दी पत्रिका ‘अहा जिन्दगी’ बेचिरहेछ । यही ठाउँमा ऊ हिजो ‘गोरखापत्र’ वा ‘मायापुरी’ बेचिरहेको हुन्थ्यो । हिजो उत्तिसारो ठूलो जमघट हुँदैनथ्यो, आज सानातिना ‘ग्याङ’ नै प्रशस्त हुन्छन् । आजका गफ नयाँ छन्, प्रवृत्ति नयाँ छन् । हिजो घरबाट निस्कन डराउने लजालु युवती आज बाइफाले बनिसकेकी जस्ती छ । निष्फिक्री सिगरेट तान्छे, अनि ब्वाइफ्रेन्ड पनि कुरिरहेकी पो हो कि ! यी परिवर्तन टुलुटुलु हेरिरहेछ न्युरोडको पीपल । बरु नजिकैका भित्ता अनि खम्बाहरू बेलाबेला रङ्गिन्छन्, तर ऊ उस्तै छ । युगौँदेखिको एउटा बूढो इतिहास बोकेर । अनि उस्तै छन्, उसको छहारीमा जिन्दगी सपार्ने सपना देखेका केही जुत्ता मेन्टेनेन्स गर्ने सूचीकार, यहीँ आएर पत्रिका नपढी चित्त नबुझ्ने केही पत्रकार–कर्मचारी अनि केही थान कवि । परिवर्तनका यी दुवै रूप देखेको पीपलबोट सायद मनमनै एउटा एब्स्ट्र्याक्ट कोलाजको अनुभूतिले निसास्सिइरहेको होला । आवाज निस्किने भए चिच्याउन चाहँदो हो– ‘लौ अचम्म ! के हो यस्तो यो !’
नयाँसडक, जहाँ खोजी हुन्छ नयाँ चेतनाको । विद्रोह, स्वर अनि प्रयोगको । साहित्यिक रुचिले कुनै ठाउँ–विशेषलाई स्वप्नभूमि बनाउँदोरहेछ । खासगरी नगरक्षेत्रहरू साहित्यिक क्रियाकलापका गन्तव्य बन्दारहेछन् । शरद्को घाममा यो सहर छाना र छतमा पल्टेर बस्छ र आफ्नो आङ कन्याउन थाल्छ । नयाँसडक साहित्यिकहरूका लागि एउटा लोकेसन हो । नयाँसडकले त्यसबेलाको कथा भन्छ, जुनबेला यस खाल्डोका क्रान्तिकारी र ‘सफ्ट’ विचार राख्ने कवि भेला हुन्थे र सहरलाई आफ्ना कविता सुनाउँथे । पीपलबोट मात्र यस्तो चौतारी हो, जहाँ दुई किनारातिर फर्केका विचार र लेखनशैली भएका लेखक पनि जम्मा हुन्छन् । रञ्जना सिनेमा हलअघिको रश्मि चिया पसल कविहरूको प्रिय जमघटस्थल हुन्थ्यो । त्यही चिया पसलले साँझ परेपछि मदिरालयको रूप धारण गथ्र्यो । भूपि शेरचन, ईश्वरबल्लभ, हरिभक्त कटुवाल, मदन रेग्मीहरूको साँझ दारुमय हुन्थ्यो । कहिलेकाहीँ कवि श्यामल, विमल निभा, नारायण ढकालहरूका साँझ अलिक भिन्न हुन्छन् न्युरोडमा हिजोआज । रश्मि चिया पसलमा अहिले पनि भूपि, हरिभक्तहरूको प्रेत डुलिहिँड्छ होला ।
नयाँसडकको पीपलबोटमुनि बसेर कविता मात्र लेखिएन, यहाँ बासी र पुराना सपना पनि देखियो । नेताहरूले ‘स्पिच’ दिने अनि कविहरूले पीडा भमिट गर्ने थलोसम्म यो भएको छ । पीपलबोटमुनिको पसलमा पुराना काठका बेन्चीमा टाँस्सिएको कस जुद्धशमशेरको अनुभूति पो गरिरहेको छ कि ! आज ठुल्ठूला दारुमहलमा मानिस अभिमान बान्ता गरिरहेका भेटिन्छन्, र पो त पीपलबोट मुन्तिरको भिड सीमान्तझैँ लाग्न थालेको छ । पीपलबोट इतिहास, धर्म र सङ्घर्षको एउटा दोभान हो । पीपल एक्लै छ, धुमधुम्ती । मानिस यहाँ आउँछन्, बस्छन्, खुइय्य सुस्केरा हाल्छन् अनि शान्त हुन्छन् । मानौँ तिनको यात्रा एउटा रहस्यको गर्भमा लुकेको छ । एक जमानाको भेटघाट गर्ने, पत्रिका पढ्ने र राजनीतिका गफ गर्ने केन्द्रमा अहिले जागिरका वान्टेड कोलममा आँखा घुमाउने युवा भेटिन्छन् ।
हिजोआज काठमाडौँका रैथानेभन्दा पनि बाहिरका मान्छेका भिडभाडले न्युरोड भरिन्छ । गाउँहरू उत्पादनका केन्द्र र सहर उपभोगको केन्द्र बन्न थालेपछि मानिसले सहरप्रति यतिबिघ्न आशक्ति राखेको हो । सहर नै शक्ति र स्रोतको केन्द्र बन्यो, गाउँहरू उपेक्षित हुँदै गए । एक दशकअघि नयाँसडककै छातीमा टेकेर स्कुल जाने सानो बालक आज युरोपका चिसा गल्लीतिर भौँतारिन्छ । हिजो न्युरोडलाई सपना बनाउने गाउँले समाज पनि आज काठमाडौँमा अल्मलिन सक्दैन । गाउँको गन्तव्य पनि सीधै अरब र मलेसिया बन्दैछ । न्युरोडले समकालीन पुस्ताका लागि अवसर जुटाइदिने सामथ्र्य गुमाउँदै गएपछि गाउँ रित्तियो तर न्युरोड हराभरा भएन ।
पीपलबोटले बितेको दुई दशकदेखि गोदावरीका मीनरत्न सार्कीलाई अर्काको मैलो कालो, रातो जुत्तामा पालिस लगाएर टल्काइरहेको देखेको छ । यस क्रममा देशमा पञ्चायत हुँदै गणतन्त्रले विचरण ग¥यो । समाजमा अछुत र जातीय कार्यविभाजन उही छ तर आरक्षणले जुत्ता सिलाउनेलाई पनि राजनीतिको केन्द्रीय थलोमा पु¥याउन थालेको सुख पीपलबोटले सायदै देखेको छ । मीनरत्न, यहीँ बसेर उनको अनुहारमा चाउरीका रेखा दौडिए । कपाल सेतै भयो । दाँत फुक्लियो । जवानी खाइदियो पीपलबोटले । समयको दाँतीमा खिया लागेजस्तै उनको सपनामा पनि खिया प¥योे । जीवनमा कहिल्यै सुखले चिहाएन । के भयो यत्तिका वर्ष न्युरोड ढुकेर ? ‘परिवार पालेँ,’ मीनरत्नले सुनाए, ‘मैले देख्यादेख्यै धेरै विदेश पुगेर कमाएर फर्के । आफू जहाँको त्यहीँ ।’ सार्की वा दलित भएकैले कोही सभासद्, मन्त्री भएका छन्, तर समाजको थिति फेरिएन । जातीय आरक्षण समुदायलाई काम नलाग्ने रहेछ भन्ने मीनरत्नको जीवनले पनि देखाइरहेछ ।
कुनै जमानामा नयाँसडक हिप्पीहरूले मस्ती गर्ने थलोको रूपमा चिनिन्थ्यो । सन् १९६० पछि न्युरोड वरिपरि वा झोंछेका गल्ली, सत्तल र पार्टीहरूमा खुलमखुला गाँजा बिक्री हुन्थ्यो । भियतनाम युद्धले तनावमा परेका, स्वतन्त्रता खोज्दै नेपाल पसेका हिप्पीहरू गाँजा तानेर लठ्ठ भएका हुन्थे, लामा जगल्टा पालेका हुन्थे र हातमा गितार बोकेर स्वतन्त्रताका भाव मिसिएका अङ्ग्रेजी गीत गाउँदै, भित्तामा अनेक रङ पोत्दै न्युरोडतिर घुमिरहन्थे । रेस्टुराँमा गाँजा तान्दै चियाको चुस्की लिन्थे । अनि, गितारको धुनमा रेगे र ग्रामीण गीत गाउँथे । युद्धको विरोधमा, पश्चिमी पुँजी, व्यापार अनि यान्त्रिक समयको विरोधमा आफ्नो देश छाडेर हिँडेका युवा–युवतीको घुँइचो थियो त्यो । उनीहरू आफूलाई शान्तिकामी, स्वतन्त्र युवापुस्ताका प्रतीक मान्थे । ती केही खोज्न झोंछे, न्युरोड, वसन्तपुरका चिसा गल्लीमा छरिएका हुन्थे ।
तिनै हिप्पीज्मको प्रभावले उपभोक्तावादी संस्कृतिभित्र काठमाडौँमा यान्त्रीकरणको पनि विकास भयो । न्युरोडमा हुर्किएको आधुनिकताले उच्च घरानियाँ संस्कृति र मध्यमवर्गीय संस्कृतिबीचको खाडललाई प्रश्न ग¥यो । अनि उच्च र मध्यमवर्गीय संस्कृतिबीचको दूरी मेटिएर कला÷साहित्य÷संस्कृतिका उत्पादन उपभोक्ता संस्कृतिको बजारमा बेचिने सस्ता सामान बने ।
धनी र गरिबबीचको सांस्कृतिक पर्खाल अजेय रूपमा चुलिइरहेछ । यहाँ पनि धनीले बाँकी गरिब, दलित, अल्पसङ्ख्यक र जनजातिमाथि आफ्नो संस्कृति थोपरेको छ । काठमाडौँका धनी वर्ग जसको पहुँच थियो, तिनले अङ्ग्रेजी बोल्न थाले, अङ्ग्रेजी गीत सुन्न थाले । बिटल्स, केन्नी, रोगर्स, एल्भिस प्रिस्ले र बब मार्लेहरू अब चिनेजानेका जस्ता भए उनीहरूका लागि । ती रङहरू घोलिएर आधुनिक रङ बनिरहेछ । न्युरोडले परम्परावादी हाम्रै संस्कृतिलाई चुनौती दिँदै आधुनिक संस्कृति स्विकारेको वर्षौं भइसक्यो ।
बहुराष्ट्रिय ब्रान्ड र विद्युतीय सामानको विज्ञापन गर्ने बोर्डहरूले न्युरोडका घर छोपेका छन् । ‘जाने हो ?’ भन्दै नजिकै उभिएकी युवतीले ‘सँगै रात बिताउने’ प्रस्ताव गरिरहेकी छे, जुन मलाई मन छैन । नजिकैको पसलले पुष्टकारी, गुदपाक, लाखामरी, तितौरा, छुर्पी प्रस्ताव गर्छ, तर, नजिकैको उदाङ्गो नालीको गन्ध सुँघ्दै ती मुखमा हाल्ने मन पटक्कै छैन । तर, अभ्यस्तहरूलाई कुनै परवाह छैन, एउटी युवती तितौराले जिब्रो फड्कारिरहेकी छे । अर्कीचाहिँ तितौरासँगैको पसलमा गगल्स लगाएर मख्ख पर्दै छे ।
०००
कवि बैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषण–मध्यरातपछिको सडकसित’को एक नायक हल्लिँदै छ, शान्त र लक्ष्यहीन सडकमा । ऊ गाइरहेको थियो–
जिन्दगी प्यारकी दो चार घडी होती है
चाहे थोडी भी हो एक उम्र बढी होती है
म नयाँसडककै विम्बमा लटपटिरहेकै थिएँ, भर्खर पर्न सुरु गरेको पानीका ठूला थोप्लाले दिमागमा हान्दा भावनाहरू मनलागी उचालिइरहेछन् । नयाँसडकको आसपासले कहिल्यै जनताको इतिहास निर्माण गर्न चाहेन । सोच्न मन लाग्छ, यो सहर कुन व्याकरणमा चल्छ ? कुन सिद्धान्तमा ? माक्र्स, एङ्गेल्स, आइन्स्टाइन, डार्बिन, प्लेटो, सुकरात, माओ, बुद्ध, फ्रायड सबै आँखामा आउँछन् । रिस उठ्छ र तत्काल दिमागबाट डिलिट गर्छु तिनीहरूको तस्बिर । थाहा छैन, दारुले मात्तिइरहेको यस युवकको आँखामा कति छन् उदासी, निधारमा कति छन् सपना ? साँच्चै उसले गाएजस्तै हो, जिन्दगी प्रेमको दुई÷चार घडी मात्रै हुन्छ । त्यही घडीमा कुरूप वा सुन्दर जस्तो पनि चित्र कोर्न सकिन्छ ।
युवकका भिजेर चाउरिएका हातमा बियरको सिसि र पीपलबोट उस्तै मौन छन् । बत्ती निभेको छ । निस्पट्ट अँध्यारोमा सडक डरलाग्दो सुरुङजस्तो देखिन्छ । लोडसेडिङले नयाँसडक अँध्यारोमा बिलाएको बेला मलाई एउटा गीत सम्झना हुन्छ –
सिने मे जलन
आँखो मे तुफान सा क्योँ है
इस सहर मे हर सख्त इतना
परेसान क्योँ है

प्रतिक्रिया