यसरी ल्याएँ प्रचण्डलाई काठमाडौँ

विसं २०५८, ०५९ । संसद्मा नेपाली कांग्रेसको बहुमत थियो, नेतृत्वमा हाम्रो सरकार थियो । त्यसअघि सरकारको नेतृत्व गिरिजाबाबुले गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पार्टीको जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन कैलाली, कञ्चनपुर पुग्नुभएको थियो, म उहाँसँगै थिएँ । कैलाली सदरमुकामनजिकै माओवादीले हाम्रो पार्टीका कार्यकर्ताको हत्या गरेका रहेछन् । हामीले त्यहाँ जाने प्रयास गर्‍यौँ तर स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै जान दिएन ।
कैलालीबाट भोलिपल्ट पार्टीकै कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुग्याँै । त्यहाँ पनि माओवादीले कांग्रेस कार्यकर्ताकै हत्या गरेका रहेछन् । हामी गाउँ जान सकेनौँ, साथीहरूले पार्टी कार्यालयमै शव ल्याए । गिरिजाबाबुले पार्टीको झन्डा ओढाउनुभयो । उहाँ अत्यन्त गम्भीर बन्नुभयो । उहाँले भन्नुभयो, ‘मान्छेको जीवन बचाउनै नसक्ने अवस्थामा अब प्रजातन्त्र भनेर बसिरहनु हुन्न । यो हिंसाको माध्यमबाट प्रजातन्त्र खतम पार्ने ग्रान्डडिजायन हो, म यसविरुद्ध लडाइँ लड्नेछु ।’ हिंसा दरबारिया षड्यन्त्रबाट भएको उहाँको सङ्केत थियो ।
कैलाली, कञ्चनपुरका घटना हाम्रो आँखैअघि भएका थिए । देशैभरि घटना त कति–कति ! सेना, प्रहरी, पार्टी–कार्यकर्ता, सर्वसाधारण, माओवादी गरी नौ हजार नेपालीको ज्यान गइसकेको थियो । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही प्रतिगामी कदम चालेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीमा मनोनीत गरेपछि गिरिजाबाबुकै नेतृत्वमा हामीले त्यस कदमविरुद्ध आन्दोलन सुरु ग¥याँै । प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा उहाँले आफ्ना चार आधारभूत सिद्धान्त अगाडि सार्नुभयो । र, प्रतिगमनविरुद्ध आन्दोलन अगाडि बढाउनुभयो ।
पछि, नेकपा (एमाले) र नेपाली कांग्रेस (प्रजातान्त्रिक) जस्ता केही पार्टी ‘प्र्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा सहभागी भए । राजाको १९ माघ ०६१ को अझ कठोर शाही कदमपछि त गिरिजाबाबुले सात पार्टीलाई शाही कदमविरुद्धको आन्दोलनमा उतार्नुभयो र सात पार्टीको साझा नेताका रूपमा त्यसको नेतृत्व गर्नुभयो ।
लगतै गिरिजाबाबुले माओवादी नेताहरूलाई दिल्लीमा भेट्नुभयो । १९ माघपछि भएको त्यो भेटमा गिरिजाबाबुले माओवादी नेताहरूलाई ‘तपाईंहरू डेमोक्रेसी र पिसफुल पोल्टिक्समा आउने कि नआउने ?’ भन्ने प्रश्न गर्नुभएको थियो । ‘तपाईंहरू हिंसा छोडेर लोकतन्त्र र शान्तिपूर्ण राजनीतिको बाटोमा आउनुहोस्, म सहयोग गर्न तयार छु,’ उहाँले भन्नुभएको थियो । त्यही भेटमा माओवादी ‘शान्तिपूर्ण राजनीतिमा आउन’ सहमत भएका हुन् ।
त्यसपछि गिरिजाबाबुले सात पार्टीकै नेताको हैसियतमा सशस्त्र हिंसात्मक युद्धमा रहेको विद्रोही माओवादीसँग वार्ता गर्नुभयो । शान्ति र लोकतन्त्रका विश्वव्यापी मान्यता मान्न माओवादी तयार भए । त्यसपछि १२ बुँदे समझदारी भएको हो । लोकतान्त्रिक मूल्य–मान्यता स्वीकार गर्न र शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएपछि दलहरूबीच समझदारी भएको हो । त्यस समझदारी निर्माणका लागि धेरैपटक छलफल भएका थिए । सहमति निर्माण हुँदा पनि गणतन्त्रमा जाने÷नजाने भन्ने विषयमा कुनै निर्णय भएको थिएन । राजाले प्रजातन्त्रमाथि हस्तक्षेप गरेर प्रत्यक्ष शासन सुरु गरेपछि नेपालको राजनीतिले नयाँ कोर्स लिएको थियो । राजाको प्रत्यक्ष शासन अन्त्यका लागि दलहरू सक्रिय भएका थिए ।
सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे दिल्ली समझदारी भयो । राजाको निरङ्कुशताको अन्त्य गर्र्ने, जनताको सर्वोच्चता स्थापना गर्ने र संविधानसभामार्पmत नयाँ संविधान ल्याउने नै दलहरूको सहमति हो । १२ बुँदे समझदारीको जगमा आन्दोलन सफलतामा टुङ्गियो र प्रतिनिधिसभा पुनस्र्थापित भयो । त्यसपछि गिरिजाबाबुको नेतृत्वमा सरकार गठन भयो, म गृहमन्त्री भएँँ । माओवादीसँग प्रत्यक्ष अप्रत्यक्ष संवाद सुरु भयो ।

०००

सरकार–माओवादी दुवैतर्फबाट वार्ता टोली गठन भयो । सरकारी वार्ता टोलीको संयोजक म नै थिएँ, प्रदीप ज्ञवाली र रमेश लेखक सदस्य हनुहुन्थ्यो । माओवादीका तर्फबाट कृष्णबहादुर महराजी वार्ता टोलीको संयोजक हुनुुहुन्थ्यो । वार्ताटोलीले युद्धबिराम आचारसंहितासहितका केही काम अघि बढायो । वार्ता टोलीको संयोजकको नाताले मैले गिरिजाबाबुलाई प्रस्ताव राखेँ, ‘दुईवटा वार्ता टोलीबाट मात्र विस्तृत शान्ति–सम्झौता तयार गर्न सकिनेछ । त्यसैले शीर्ष नेताहरूको तहमा प्रत्यक्ष वार्ता गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘सक्नुहुन्छ भने प्रचण्डलाई ल्याउनुहोस् ।’
महराजीले प्रचण्डसँग भेट्ने वातावरण मिलाउनुभयो । तर, ‘बिनागार्ड आउनु पर्छ’ भन्ने सर्त उहाँहरूको थियो । हामीले त्यसलाई स्वीकार गर्‍यौँ, प्रचण्डलाई भेट्न जाने निधो भयो । विमानस्थल पुग्दासमेत कहाँ जाने भन्ने हामीलाई महराजीले बताउनुभएको थिएन, हेलिकोप्टर चढेपछि मात्रै उहाँ (महरा)ले हाम्रो गन्तव्य बताउनुभयो– सिक्लेस ।
म र शेखरजी (शेखर कोइराला) सिक्लेस पुग्यौँ । राज्यको उपस्थिति सदरमुकाममा मात्र सीमित थियो । माओवादीले सदरमुकामनजिकैको गाउँमा तालिम सञ्चालन गर्दा पनि राज्यलाई कुनै सूचना थिएन । हामी विश्वासका आधारमा गएका थियौँ । दुई दिनपछि प्रचण्ड, बाबुरामलाई खुला हृदयले काठमाडौँसम्म ल्याएको हुँ ।

०००

हामी सवार हेलिकोप्टर सिक्लेसमा दिउँसो ल्यान्ड भयो । हामीलाई स्वागत गर्न विभिन्न तहका नेताहरू आएका थिए । केहीछिनमै हामीलाई एउटा भवनमा पुर्‍याइयो । त्यो एनजिओको भवन रहेछ, जहाँ प्रचण्डसहितका नेताहरू बस्नु हुँदोरहेछ । कार्यकर्तालाई तालिम दिँदै गरेका प्रचण्ड र बाबुराम भट्टराई केही समयमै त्यहाँ आइपुग्नुभयो, हामीसँग दुई घन्टा कुराकानी गर्नुभयो । उहाँहरू काठमाडौँ आउन तयार हुनुभयो, हामी काठमाडौँ फर्कियौँ ।
त्यसको दुई दिनपछि (२ असार २०६४) म फेरि त्यहाँ गएँ र उहाँहरूलाई काठमाडौँ ल्याएँ । अघिल्लोचोटि पनि गइसकेकाले यसपालि खासै अचम्म लागेन । गिरिजाबाबुले ‘तपाईं आफैँ गएर ल्याउनुपर्छ’ भनेर निर्देशन दिनुभएको थियो । दुई दिनअघिको भेटले ‘माओवादी शान्ति–प्रक्रियामा’ आउँछन् भन्नेमा विश्वास थियो ।
सरकारले विश्वास गरेर माओवादीलाई वार्तामा ल्याएपछि ‘वार्ता भङ्ग हुनुहुन्न’ भन्नेमा म सचेत थिएँ । किनभने, त्यसअघि भएका दुईवटा वार्ता सफल भएका थिएनन् । हरेक वार्ता असफल भएपछि हजारौँ नेपालीको ज्यान गएको थियो । वार्ताका माध्यमद्वारा अन्तरिम सरकार, संविधानसभा हुँदै देशको राजनीतिक प्रक्रियालाई द्रुत गतिमा अघि बढाउनुपर्छ भन्ने गिरिजाबाबुको सङ्कल्प थियो । त्यो सङ्कल्पमा म इमानदार भएर लागेँ । २ असारको बिहानै मैले प्रधानमन्त्री निवासमा गिरिजाबाबुलाई भेटेँ र विमानस्थल पुगँे । प्रचण्डसहितका नेताहरू पोखरा आउने र त्यहाँबाट उहाँहरूलाई लिएर काठमाडौँ आउने कार्यक्रम थियो ।
पोखरामा प्रचण्ड, उहाँकी धर्मपत्नी सीता, बाबुरामसहितका नेतालाई साथमा लिएर काठमाडौँ आएँ । उहाँहरूलाई काठमाडौँ ल्याइपुर्‍याउँदा देशमा ठूलो तरङ्ग आएको थियो । हामी चढेको हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण भयो । विमानस्थलमा मेरो गाडी थियो । उहाँहरू सबैलाई मेरै गाडीमा राखेर प्रधानमन्त्री निवास बालुवाटार ल्याएँ । उहाँहरूको सुरक्षा–संवेदनशीलताका कारण मैले आफ्नै गाडीमा ल्याएको हुँ । बालुवाटार–गेट छिर्दासम्म उहाँहरू भूमिगतै रहने बताउनुभएको थियो । बालुवाटारमा गिरिजाबाबुसँग उहाँहरूको भेटघाट भयो, लगत्तै सात दलका अन्य नेतासँग पनि । दिनभर सात दल र माओवादीबीच वार्ता भयो, साँझ आठबुँदे सहमति भयो । सहमति निर्माणपछि उहाँहरू सार्वजनिक हुनुभयो । सायद दलबीच सहमति बनेको थिएन भने माओवादी नेताहरू सार्वजनिक हुँदैनथे । राति बस्ने व्यवस्था महराजीले मिलाउनुभएको थियो ।
भोलिपल्ट बिहानै गिरिजाबाबुले फोन गरेर भन्नुभयो, ‘तपाईं उहाँ (प्रचण्ड) हरूलाई जहाँ भन्नुहुन्छ, त्यहीँ पुर्‍याएर आउनुहोस् ।’ गरिजाबाबु त्यही दिन उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्थ्यो ।
गिरिजाबाबुको आग्रहपछि म माओवादीको टोली लिएर सुर्खेत पुगेँ । फेरि डोटीतिर लाग्यौँ । डोटीको बिपीनगर (ठ्याक्कै याद छैन) मा माओवादीका नेतालाई छाडेर म काठमाडौँ फर्कें । म काठमाडौँ आइपुग्दा गिरिजाबाबु उपचारका लागि सिंगापुर जान विमानस्थल पुग्नुभएको थियो । उहाँलाई विमानस्थलमा बिदाई गरेर म निवास फर्किएँ ।
०००

काठमाडौँ आउनुअघि माओवादी नेताहरूले सार्वजनिक नहुने बताउनुभएको थियो । उहाँहरूले ‘आपूmले भनेको स्थानमा पुर्‍याउनुपर्ने’ सर्त राख्नुभएको थियो । तर, ‘कहाँ जाने’ भन्नुभएको थिएन । ‘काठमाडौँमा हामी आफ्नै तरिकाले बस्छौँ, राज्यले सहयोग गर्नुपर्छ,’ भन्नुभएको थियो । मैले ‘हुन्छ’ भनेको थिएँ र गिरिजाबाबुले पनि वचन दिनुभएको थियो ।
उहाँहरूको सुरक्षाअवस्था निकै गम्भीर थियो । गिरिजाबाबुले जानेबेला मलाई भन्नुभएको थियो, ‘तपार्इं गृहमन्त्री, लिन पनि तपाईं जानुहोस्, पुर्‍याउन पनि तपाईं नै जानुहोस् । राजनीतिको एउटा धर्म हुन्छ, कसैलाई धोका दिनुहुन्न ।’ सुरक्षाको संवेदनशीलताको मूल्याङ्कन गरेर गिरिजाबाबुले माओवादी नेतालाई लिन मलाई पठाउनुभएको हो ।
गिरिजाबाबुले पटक–पटक भन्नुभएको थियो, ‘मैले जुवा खेलेकै हो, शान्तिप्रक्रिया सफल भए देश सफल हुन्छ, असफल भए म असफल हुन्छु ।’ उहाँले आफूलाई लो प्रोफाइलमा राखेर राष्ट्रका लागि ठूलो आँट गर्नुभएको थियो ।
स्वयं गिरिजाबाबुले नेपाली कांग्रेसलाई गणतन्त्रमा लैजाने प्रस्ताव नराख्नुभएको भए महासमितिले त्यो प्रस्ताव पारित नै गर्ने थिएन । र, मुलुकमा यति सहज गणतन्त्र आउने थिएन ।

प्रस्तुतिः बालकृष्ण अधिकारी

प्रतिक्रिया