‘धन्दावाल’ तेस्रोलिङ्गी

काठमाडौँ, ३ चैत । गुराँस एक्स्पोर्ट एन्ड इम्पोर्ट लेखिएको होर्डिङबोर्ड । ठ्याक्कै मुनिको मन्दिरछेउबाट एक हुल तेस्रोलिङ्गी निस्किए । जिन्सका छोटा हाफपाइन्ट अनि छाती मात्रै छोपिएका टिसर्ट । निकै मादक देखिएका छन् उनीहरू । नर्सिङचोकबाट उत्तरतिर जाने साँघुरो सडकमा नीलो प्लेटको ५३ डिसी ४७४६ नम्बरको झन्डावाला गाडी अब उनीहरूतिर स¥यो । उनीहरू गाडीलाई इसारा गर्दै छन्, ड्राइभर जुँगामा ताउ लाउँदै आँखा जुधाउँदै छ ।
नर्सिङचोकबाट असईको नेतृत्वमा एक हुल प्रहरी लौरो घुमाउँदै आइपुग्यो । झरिसकेको ड्राइभर गाडीभित्रै उक्लियो, नर्सिङबाट बायाँतर्फ मोडियो । मन्दिरका भित्तामा अडेस लागेर बसेका तेस्रोलिङ्गी पनि अलप भइसकेका थिए ।
प्रहरी गयो । मन्दिर फेरि भरिभराउ । नीलो नम्बरप्लेट फेरि मन्दिरनजिकै आइपुग्यो । अनि, सुरु भयो उही आँखा जुधाइ । बा.४४ प १५८३ नम्बरको मोटरसाइकलमा सवार दुईजना मन्दिरछेउ आएर रोकिए । तेस्रोलिङ्गी अब उनीहरूतर्फ मोडिए, वल्लो गल्लीमा आउन इसारा गरे । उनीहरूले त्यसै गरे । एउटीले सुनाई, ‘त्यो ड्राइभर त साह्रै स्लो रै’छ यार ।’ गल्लीको अँध्यारोबाट आवाज आयो, ‘हजार रुपियाँ चाहिन्छ ।’ मोटरसाइकलवालाले भन्यो, ‘पाँच सयमा हुन्छ ?’ एकजना झोक्किइन्, ‘पाँच सयमा त छुन पनि पाइन्न ।’ निकैबेर चल्यो शरीरको मोलमोलाइ तर कुरा मिलेनछ । फर्कने सुरसार गर्दैगर्दा मोटरसाइकलवालाले उनीहरूमाथि तीतो पोख्यो, ‘छक्का !’ उनीहरू कुटौँलाजसरी झम्टिए । तनाब बढ्दै गर्दा मोटरसाइकल मल्ल होटलतर्फ हुइँकियो । उनीहरू चुकचुकाए, ‘सुरुमै लोदर लाग्यो भन्या !’
बुधबार मध्यराति नर्सिङ चोकबाट मल्ल होटलतर्फ जाने गल्लीमा देखिएको दृश्य हो, यो । तेस्रोलिङ्गीसँगका शारीरिक मोलमोलाइका यस्ता दृश्य थुप्रै देखिन्छन्, त्यहाँ । कोही मोल मिलाई रात बिताउन लिएर हिँड्छन् त कोहीचाहिँ कुटिएर फर्किन्छन् ।
पार्किङ गरिएका ट्याक्सीभित्रका मोलमोलाइ अझ रोचक लाग्छन् । ट्याक्सीभित्रैबाट इसारा गरिरहेका उनीहरूलाई ग्राहकहरू सुरुमा त महिला नै सोच्छन् । जब ऊ लोभिँदै ट्याक्सीछेउ पुग्छ, जबर्जस्ती गाडीभित्र तान्छन् अनि ढोका बन्द गर्छन् । महिला नभएको चाल पाएपछि ग्राहक फुत्किन खोज्छ । जबर्जस्ती ग्राहकको हात आफ्ना अङ्गअङ्गमा पु¥याउँछन् र भन्छन्, ‘लु छाम, मेरो सबै केटीकै जस्तो छ ।’
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रमान श्रेष्ठले  तेस्रोलिङ्गीका यस्ता क्रियाकलापका कारण पर्यटनबारे अन्तर्राष्ट्रिय जगत्मै गलत सन्देश गइरहेको बताए । यौनिक मोलतोलका बहानामा लुटपाटका घटनासमेत बढ्न थालेपछि प्रहरीले पछिल्लो समय केही कडाइ गरे पनि ठमेल क्षेत्रमा उनीहरूको ‘धन्दा’ रोकिएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी धीरजप्रताप सिंह भन्छन्, ‘तेस्रोलिङ्गी अब राजधानीको सुरक्षा व्यवस्थामै चुनौती बनेका छन् ।’

प्रतिक्रिया