एमालेमा गोल्फ एकता

काठमाडौँ, ३ चैत । आफ्नै दलका नेता प्रधानमन्त्री रहुन्जेल बालुवाटार नछिर्ने प्रतिज्ञा गर्न पछि नपरेका नेकपा (एमाले)का नेता अचेल पारिवारिक जमघटमा जुट्न थालेका छन् । पार्टीका शीर्ष तहमा रहेका नेता मङ्गलबार श्रीमतीसहित गोकर्णस्थित गोकर्ण भिलेज रसोर्टमा पुगे र सहभोज गरे । त्यति मात्र होइन उनीहरूले गोल्फ खेलेर रमाइलो पनि गरे ।
अध्यक्ष झलनाथ खनाल र सचिव शङ्कर पोखरेल भने श्रीमती नलगी गोकर्ण पुगेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, उपाध्यक्ष अशोक राई, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली र विष्णु पौडेल पत्नीसहित त्यहाँ पुगेका थिए । उपाध्यक्ष विद्या भण्डारी दुई छोरी उषा र निशालाई लिएर गएकी थिइन् । उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्य भरतमोहन अधिकारी र अमृत बोहरा राजधानीबाहिर रहेकाले गोकर्णमा उपस्थित भएनन् ।
आन्तरिक एकताको प्रस्ताव पारितपछि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक पनि एकताको सन्देश दिँदै सम्पन्न गरेर ‘फुर्सद’मा पारिवारिक रमाइलो गर्न भन्दै उनीहरू मङ्गलबार गोकर्ण पुगेका हुन् । दिनहुँ अन्य दलसँगको वार्तामा बिताउने अध्यक्ष खनालदेखि सधैँ पार्टी कार्यालयमै रहने सचिव ज्ञवालीसम्म गोकर्ण पुगे । त्यही दिन माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठक परेकाले महासचिव पोखरेल दम्पती भने अरूभन्दा ढिला पुगेको थियो ।
मध्याह्न १२ बजे गोकर्ण पुगेका नेताहरूले आधा घन्टापछि सँगै खाना खाए र एकैछिन भलाकुसारी गरे । ‘छोराछोरीको पढाइ, रुचि र स्वभावका विषयमा कुराकानी भएको थियो,’ सचिव ज्ञवालीले भने । त्यसपछि नेताहरू तस्बिर खिचाउन केन्द्रित भए । तस्बिर खिचाउन वरिष्ठ नेता नेपाल, ओली र सचिव पौडेल बढी सक्रिय थिए ।
तस्बिर खिचाउने कार्यक्रमपछि नेताहरू गोल्फ खेल्न केन्द्रित भए । सबैले सँगै खेल खेल्दा खुब रमाइलो भएको पौडेलको अनुभव छ । ‘एउटा टाढासम्म बल पु¥याउने र अर्काे प्वालमा बल छिराउने खालको हुँदोरहेछ,’ उनले भने, ‘यसबाट रमाइलो मात्र होइन परिवारबीच आत्मीयता पनि बढाएको महसुस भयो ।’
परिषद् बैठक सकिएलगत्तै बल्खुस्थित पार्टी कार्यालयमा भएको नेताहरूको जमघटमा पारिवारिक सहभोज आयोजनाको प्रस्ताव ओलीले गरेका थिए । ‘परिषद् बैठकपछि नेताहरूबीच पार्टी कार्यालयमा भेट भएको थियो, केपी कमरेडले परिवारका सदस्यसहित सँगै खाना खाने कार्यक्रम राखौँ भन्नुभयो,’ सचिव ज्ञवालीले भने, ‘बैठक होइन पारिवारिक जमघट गरौँ भनेपछि गइयो ।’ ‘फ्रेस मुड’मा नेताहरूको जमघटले पारिवारिक ‘मिक्सअप’ हुने र त्यसले नेताहरूलाई भावनात्मक रूपमै नजिक ल्याउने अनुभव सबैले गरेको उनले बताए ।
विगतमा एकअर्काको निवासमा जान हिच्किचाउने र पार्टीकार्यक्रममा सकेसम्म एक नेताले बोलिसकेपछि मात्रै पुग्ने नेताहरू सपरिवार हिँड्नुलाई कार्यकर्ता पनि भावनात्मक एकताको उपज ठान्छन् । खनाल प्रधानमन्त्री भएका बेला ओली प्रधानमन्त्री निवास जाँदैनथे भने नेपाल प्रधानमन्त्री हुँदा पनि एकअर्काको घरमा आउजाउ हुँदैनथ्यो ।

प्रतिक्रिया