दाहालपुत्रको टोलीलाई दुई करोड

काठमाडौँ, ३ चैत । सरकारले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सम्मिलित ११ सदस्यीय टोलीलाई सगरमाथा आरोहणका लागि दुई करोड रुपियाँ दिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शान्तिको कामना गर्दै नेपालीले सगरमाथा आरोहण गर्न लागेका कारण आर्थिक सहायतास्वरूप सो रकम दिने निर्णय गरेको हो ।
बैठकपछि भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले सरकारले यसअघिका नजिरका आधारमा र लुम्बिनी शान्ति अभियानका नाममा सगरमाथा आरोहण गर्ने टोलीलाई सहयोगस्वरूप सो रकम दिने निर्णय गरेको जानकारी दिए । सरकारले गत वर्ष सगरमाथा आरोहण गरेका कर्मचारीको टोलीलाई तीन करोड आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
प्रकाश ‘लुम्बिनी–सगरमाथा शान्ति अभियान २०१२’ को नाममा एमाओवादी केन्द्रीय सदस्य कृष्ण केसीको नेतृत्वमा सगरमाथा आरोहण गर्न लागेका छन् । उनी चार महिनादेखि आरोहण प्रशिक्षणमा व्यस्त थिए । मन्त्रिपरिषद् स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले टोलीलाई चार करोड रकम दिन प्रस्ताव गरे पनि अरुको विरोधपछि दुई करोडमात्र दिने निर्णय भएको हो । टोलीले चार महिनाअघि सरकारसँग ६ करोड माग गरेको थियो । उसले सगरमाथा चढ्न तथा सगरमाथा आधारशिविरमा सगरमाथा महोत्सव गर्न भन्दै रकम मागेको थियो । टोलीले ०६९ को सुरुमै सगरमाथा चढ्ने तयारी गरेको छ ।
सगरमाथा आरोहणका लागि तिर्नुपर्ने झन्डै एक करोडबराबरको शुल्क पनि मिनाहा गरिने भएको छ । त्रिपाठीका अनुसार शुल्क मिनाहाको प्रस्ताव अर्को बैठकमा पर्यटन मन्त्रालयले पेस गर्नेछ । मन्त्रालयका उपसचिव रामचन्द्र ढकालले विभिन्न नाममा सगरमाथा चढ्दा लाग्ने शुल्क सरकारले मिनाहा गर्दै आएको बताए । उनले भने, ‘नेपाली मात्र सम्मिलित टोलीलाई सगरमाथा चढ्दा लाग्ने शुल्क मिनाहा गर्दै आइएको छ ।’

प्रतिक्रिया