राष्ट्रियतामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

काठमाडौं, ३ चैत । राष्ट्रपति रामवरण यादवले राष्ट्रियताका बिषयमा सार्वजनिक रुपमा आएका टिकाटिप्पणीप्रति सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।
अखिल नेपाल कानून व्यवसायीहरुको आज राजधानीमा भएको सम्मेलनमा राष्ट्रपति यादवले राष्ट्रियताका बिषयमा आउने अभिब्यक्तिमा सरकार गम्भिर हुनुपर्ने बताए । उनले जनआकंक्षालाई सम्बोधन गरेर सरकार र दलहरु दृढताका साथ अघि बढ्नु पर्ने पनि बताएका छन् ।
उनले मुलुकमा संक्रमणकालिन अवस्था लामो समय सम्म राख्न नहुने सुझाव दिएका छन् । उनले संक्रमणकालिन अवस्था लम्बिदा त्यसले मुलुकलाई असर पर्ने बताए ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउने बिषयमा दलहरु गम्भिर भएपनि गृहकार्य अप्रयाप्त रहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, ‘संविधान जारी गर्ने समयको अभाव हुँदैछ, दलहरुको गृहकार्य अप्रयाप्त भयो ।’
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सेना समायोनको कुरा दुई हप्ता भित्र टुङगीने दाबी गरे । तर त्यसका लागि कांग्रेस, एमाले र मधेसवादी दलहरु जिम्मेवार बन्नु पर्ने उनको सर्त छ ।
कांग्रेस सभापति सुशील कोइरालाले शान्ति र संविधानलाई टुङगोमा पुरानका लागि प्रचण्डको भाषण मात्रै प्रयाप्त नहुने टिप्पणी गरेका छन् । उनले शान्ति प्रक्रिया टुङगाउने बिषयमा पहिला आफ्नो पार्टीमा ठोस निर्णय गराउन प्रचण्डलाई सुझाव दिए ।
एमाले अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया पुरा गर्ने पहिलो जिम्मेवारी माओवादीकै रहेको बताए । उनले शान्ति प्रक्रिया टुङगाउन माओवादी गम्भिर र जिम्मेवार नरहेको आरोप लगाए ।
राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले संविधान समयमा बन्न सकेन भने लोकतान्त्रिक गणतन्त्रको भ्रुण हत्या हुने चेतावनी दिए । उनले लोकतान्त्रिक गणतन्त्रको भ्रुण हत्या प्रमुख तीन दलहरुले नै गर्ने दाबी गरे ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेसी दल र एकीकृत माओवादीको सरकार संविधान र शान्ति प्रक्रिया सफल बनाउन अफल रहेको स्वीकार गरे । उनले सबै कुरा मिल्दा मिल्दैपनि सरकार शान्ति र संविधानमा सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया