दाङलाई हप्तामा आठ टिकट

दाङ, चैत । नेपाल वायु सेवा निगमले दाङका लागि सिट कम छुट्याउदा सेवाग्राहीहरु मर्कामा परेको गुनासो बढेको छ । लामो समयसम्म बन्द भएको हवाइ सेवा  सन्चालनमा आउँदा उत्साहित भएका दाङवासी माग अनुसारको टिकट नपाउँदा मर्कामा परेका हुन् ।

सेवाग्राहीको अत्यधिक माग हुँदाहुँदै पनि दाङका लागि हप्तामा ८ वटामात्र टिकट बिक्रीको अनुमति दिइएको भन्दै बिरोध भएको हो ।

‘दाङमा हवाई यात्रुको चाँप छ तर टिकट भने हप्तामा ८ वटा मात्र दिइन्छ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष टेकप्रसाद वस्नेतले भने । निगमले टिकट विक्रीको जिम्मा तुलसीपुर उद्योग बाणिज्य संघलाई दिएको छ ।

२०६६ पुसदेखि निगमले दाङमा यात्रु अभाव भएको समस्या देखाउँदै हवाइ सेवा बन्द गरेको थियो । तुलसीपुर उद्योग वाणिज्य संघ लगायत जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाहरुको निरन्तर दवाव पछि गत माघ ६ गतेदेखि साप्ताहिक रुपमा हरेक शुक्रवार नियमित उडान सुरु भएको छ ।

दाङमा यात्रुको बढ्दो चापलाई मध्यनजगर गर्दै संघको मध्यपश्चिम क्षेत्रको पहलमा अर्को हवाई सेवापनि संचालन गर्न सक्ने बताइएको छ । संघका संयोजक दीपेन्द्रकुमार खत्रीले आगामी दिनमा नेपाल वायु सेवा निगम निजी क्षेत्रको सीता एरलाइन्सले पनि उडान भर्न सहमति भएको जानकारी दिए ।

सरकारले दाङको टरिगाउँमा रहेको विमानस्थलका लागि १० करोडभन्दा बढी बजेट बिनियोजन गरिसकेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै २ करोड ५० लाख र विमानस्थल कालोपत्रेका लागि ८ करोड बिनियोजन गरिएको हो ।

हाल दाङदेखि काठमाडौंको भाडा ५ हजार ६ सय ३५ रुपैया तोकिएको छ । २ सय रुपैया एयरपोर्ट चार्ज लाग्छ ।

प्रतिक्रिया